३१ बैशाख २०७७
भक्तपुर। दुईजनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएपछि भक्तपुरमा लकडाउनलाई कडा बनाइने भएको छ ।
जिल्लास्तरीय विपद् व्यवस्थापन समिति (सिएमसी)को बुधवार सम्पन्न बैठकले अति आवश्यक कामको लागि बाहेक सर्वसाधरणलाई घर बाहिर निस्कन नदिने निर्णय गरेको हो।
समितिको बैठकले जिल्लामा कोभिड–१९ को संक्रमणको जोखिम र समुदायमा बिस्तारको खतरा देखिएकाले कोही पनि सर्वसाधारण घरबाहिर निस्कन नपाउने तथा अति आवश्यक वस्तुबाहेक व्यापार, व्यवसाय र उद्योग सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
त्यसैगरी संक्रमित व्यक्तिहरुको यात्रा विवरणका आधारमा अविलम्ब कन्ट्याक्ट ट्रेसिङ गर्ने, उनीहरुको बासस्थान सिल गर्ने, उनीहरुका परिवारका सदस्यहरुको तुरुन्त कोरोना परीक्षण र आवश्यक परे आइसोलेसनमा राखेर उपचार गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको बैठकले गृहमन्त्रालयको निर्देशन अनुसार भक्तपुरबाट अन्यत्र जान यसअघि जारी गरिएका सबै सवारी पास खारेज गर्ने निर्णय गरेको छ।
बैठकले भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अति आवश्यक बाहेक व्यक्ति तथा सवारी साधन निषेध गर्ने, स्थानीय र सरोकारवाला निकायबाट खाद्यान्न तथा आपूर्तिको व्यवस्थापन तथा नियमनको काम गर्ने, विपन्न खाद्यान्न अभाव भएकाहरुलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
त्यस्तै नगरपालिकाहरुले क्वारेन्टाइन चुस्त दुरुष्ट राख्ने, वडाहरु मार्फत आफ्नो क्षेत्रमा बाहिरबाट आएकाहरुको लगत संकलन गर्ने, निगरानी गर्ने, कोरोना परीक्षण गराउने र त्यस्ता व्यक्तिहरुलाई आवश्यकता अनुसार क्वारेन्टाइनमा पठाउने काममा समन्वय गर्ने निर्णय गरेको छ ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, विरदल गण सूर्य्विनायक व्यारेकका प्रमुख सेनानी शिवप्रसाद पौडेल, महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान, भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमसहित उपस्थित थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।