२ जेष्ठ २०७७
काठमाडौं । सरकारले आजसम्म कुल ८७ हजार कोरोना परीक्षण गरिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ६३ हजार ८५ र पिसिआर विधिमार्फत २३ हजार ९ सय १४ गरी कुल ८६ हजार ९ सय ९९ वटा परीक्षण गरिएको जनाएको हो।
मन्त्रालयमा आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले गत २४ घण्टामा मात्र २ हजार ८ वटा परीक्षण गरिएको जानकारी दिए। तीमध्ये पिसिआर विधिबाट १२ सय ५० र आरडिटी विधिमार्फत ७५८ वटा परीक्षण भएका हुन्।
उनका अनुसार आजसम्म क्वारेन्टाइनमा बस्नेहरुको संख्या १५ हजार ६ सय ८३ जना छ भने २६७ जना आइसोलेशनमा रहेका छन्। प्रवक्ता देवकोटाले शुक्रबार बिहान थपिएका ९ जनासहित नेपालमा कुल संक्रमितको संख्या २५८ पुगेको बताए।
उनीहरूसहित २१० जना पुरुष ४८ जना महिला रहेका छन्। मन्त्रालयका अनुसार शुक्रबारै कोशी अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षीय पुरुषलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।
यससँगै कोरोनाको उपचारपछि निको भएर घर फर्कनेको संख्या ३६ पुगेको छ। अन्य संक्रमितको भने देशका विभिन्‍न अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको बताइएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।