२ जेष्ठ २०७७
बनेपा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेलाई माक्स र स्यानिटाईजर हस्तान्तरण गरेको छ । शुक्रबार जनता समाजवादी पार्टी काभ्रेले ३० थान स्यानीटाईजर र एक सय ५० थान सर्जिकल माक्स फोनिजलाई हस्तान्तरण गरेको हो ।
पार्टीका केन्द्रिय सदस्य सबरकुमार प्रजापतिको समन्वयमा जिल्ला सदस्य राजकुमार प्रजापतिले सहयोग गरेका हुन् । केन्द्रिय सदस्य प्रजापति र जिल्ला सदस्य प्रजापतिले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश अध्यक्ष पेमा लामा र जिल्ला सचिव इन्द्रबहादुर थापालाई माक्स र स्यानिटाईजर हस्तान्तरण गरेको हो ।
विश्व भरी फैलिएको कोरोना भाईरसबाट सुरक्षित हुदै नागरिकहरूलाई सुसूचित गर्न खटिने पत्रकारहरू सुरक्षित होस भन्ने हेतुले उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य सबरकुमार प्रजापतिले बताएका छन् । ‘हामीले फ्रन्ट लाईनमा खटिने पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गर्ने क्रममा फोनिजलाई पनि स्वास्थ्य सामग्री सहयोग गरेका हौँ ।’ उनले भने, ‘यस अघि हामीले समन्वय गरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरूलाई स्थनीय तहमार्फत पिपिई, माक्स, स्यानीटाईजर र पञ्जा हस्तान्तरण गरीसकेका छौँ । कोभिड–१९ रोकथाम नियन्त्रण र नियन्त्रणको लडाईमा पत्रकार पनि फ्रन्टलाईनमा खटी नागरिकलाई सुसूचित गर्ने महत्वपूर्ण जिम्मेवारीमा खटिएकाले आफूहरूले सहयोग गरेको उनले जोड दिए ।
जनता समाजवादी पार्टीले पत्रकारहरूलाई सम्झेर सहयोग गरेकोमा फोनिजका बागमी प्रदेश अध्यक्ष पेमा लामाले धन्यवाद व्यक्त गरेका छन् । यस सहयोगले फोनिजका साथीहरूलाई कार्यक्षेत्रमा खटिन महत्वपूर्ण सहयोग मिल्ने बताएका उनले बताएका छन् ।
त्यसैगरी फोनिजका काभ्रे जिल्ला सचिव इन्द्रबहादुर थापाले स्वास्थ्य सुरक्षाका सामग्री सहयोग भएकाले कार्यक्षेत्रमा खटिन हौसल्ला मिलेको बताएका छन् । सहयोगको कदर गर्दै फोनिजका साथीहरू कोरोनाको महामारीमा पनि आफु सुरक्षित रहि नागरिक सुसूचित पार्न अहोरात्र खटिने उनले बताए । प्राप्त सामग्री कार्यक्षेत्रमा खटिने पत्रकारहरूलाई आवश्यकता अनुसार वितरण गर्ने सचिव थापाले जानकारी दिए । विपतको यस घडीमा फोनिजका सदस्य मात्र नभई फिल्डमा खटिने जुनसुकै पत्रकारहरूलाई आवश्यकता अनुसार वितरण गर्ने उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















