३ जेष्ठ २०७७
काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको पष्टि गरेको हो ।
कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया सावित्री तिम्सिना रहेकी छन्।
मन्त्रालयका अनुसार मृतक महिला बैशाख २३ गते त्रि.वि. शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी थिइन् । उनको २४ गते डेलिभरी भएको, उनी अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर गएकी थिइन् ।
उनलाई ज्वरो, स्वासप्रस्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनी धुुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड–१९ सँग सम्बन्धित थप परिक्षण पश्चात उनी कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको र नेपालमा कोभिड–१९ बाट मृत्यु भएको यो पहिलो घट्ना भएको मन्त्रालयले जनाएको छ ।
धनुषामा २ जनालाई कोरोना
धनुषा जिल्लामा २ जना संक्रमित भेटिएको छ । मन्त्रालयका अध्यावधिक विवरण अनुसार कोभिड–१९ का पुष्टि भएकाहरुको जम्मा संख्या २ सय ८१ पुगेको छ । राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको संख्या दुई छ । जो धनुषा निवासी २०, ६५ वर्षिय पुरुषहरु रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















