७ बैशाख २०७७
काठमाडौं । सरकारले आगामी एक महिनाभित्र चार लाख नागरिकको कोरोना परीक्षण गर्ने भएको छ । कोरोना भाइरस देखिएको धेरै समय भइसक्दा पनि परीक्षण ज्यादै कम भएको भनी चौतर्फी प्रश्न उठ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक महिनाभित्र चार लाख नागरिकको नमुना संकलन गरी परीक्षण गर्ने लक्ष्य लिएको हो । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।
सरकारले हालसम्म आरडिटी र पिसिआर विधिमार्फत एक लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गरिसकेको छ । कुल जनसंख्याको १।७ प्रतिशत परीक्षण तत्काल गर्नुपर्ने आवाज उठेपछि मन्त्रालयले थप चार लाख परीक्षण गर्ने तयारी थालेको हो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तीन लाख आरडिटी र दुई लाख पिसिआर परीक्षण गरिने भएको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा।भगवान कोइरालाले जतिसक्दो धेरै परीक्षण गर्न आवश्यक भएको बताए । संक्रमितको संख्या समुदायमा ठूलो मात्रामा रहेको हुन सक्ने भन्दै कम परीक्षणले बाहिर नआएको विज्ञहरूको भनाइ छ ।
‘हालसम्म ७४ हजार ६ सय ४९ आरडिटी र ३३ हजार ६ पिसिआर प्रविधिमार्फत कोरोना परीक्षण भएको छ । यो संख्यासहित पाँच लाख पुर्याउन लागेको हो,’ मन्त्रालयका एक अधिकारीले भने । मन्त्रालयले सोमबार नै व्यवस्थापन महाशाखामा आवश्यक किट खरिदका लागि परिपत्र गरेको छ । एक हप्ताभित्र खरिद गरिसक्न मन्त्रालयले निर्देशन दिएको महाशाखा स्रोतको भनाइ छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















