९ जेष्ठ २०७७
धुलिखेल । काभ्रेको धुलिखेल अस्पतालमा कोरोना भाइरबाट मृत्यु भएकी महिलाका आफन्तहरु आज डिस्चार्ज भएकाछन् । धुलिखेल अस्पतालको आइसोलेसन कक्षमा रहेका मृतक महिलाका नवजात शिशु, श्रीमान र आफन्त आज डिस्चार्ज भएको धुलिखेल अस्पतालले जानकारी दिएको छ ।
सिन्धुपाल्चोक जिल्लाका बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेकी २९ बर्षीय सुत्केरी महिलाको मृत्यु पछि उनकी नवजात शिशु, श्रीमान र आफन्तलाई आइसोलेसनमा राखिएको थियो ।
दुईपटक परिक्षण गर्दा पनि कोरोना संक्रमण नदेखिएपछि शुक्रबार डिस्चार्ज गरिएको अस्पतालका प्रशासकिय निर्देशक डाक्टर रमेश माकजुले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।
‘शिशुमा हल्का जण्डिस र शरीरमा स–साना बिमिराको समस्या देखा परेको थियो । अस्पतालका बालरोग विशेषज्ञहरुले आवश्यक चेक जाँच गरि जण्डिस र ससाना बिमिरा निको भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘डिस्चार्ज भएका सबैलाई थप एक हप्ता सम्बन्धित जिल्लाको क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ ।’
महिलाको जेठ १ गते राति उपचारका क्रममा मृत्यु भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















