९ जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लामा कोभिड–१९ नियन्त्रण, रोकथामका लागि आवश्यक तयारीहरु पूरा गर्ने भएको छ । दिनदिनै संक्रमितहरुको संख्या बढ्दै गएपछि काभ्रेमा संभावित जोखिमलाई ध्यानमा राख्दै उक्त तयारी गरेको जनाइएको छ ।
आज शुक्रबार कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धि जिल्ला स्तरीय विपद् व्यवस्थापन केन्द्रको बैठकले विभिन्न निर्णयहरु गरेको छ । केन्द्रको संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले काभ्रेमा ६ सय बेड सहितको जिल्ला स्तरीय क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।
धुलिखेल र बनेपामा जिल्ला स्तरीय क्वारेन्टाइन
केन्द्रको बैठकले धुलिखेल नगरपालिका र बनेपा नगरपालिकामा कम्तीमा ३।३ सय बेडको सुविधा सम्पन्न क्वारेन्टाइनको व्यवस्था गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए ।
‘धुलिखेल नगरपालिका र बनेपा नगरपालिकामा जिल्ला स्तरीय कम्तीमा ३।३ सय बेडको सुविधा सम्पन्न क्वारेन्टाइनको व्यवस्था गर्ने साथै अन्य नगरपालिका र गाउँपालिकामा १।१ सय बेडको आधारभूत सुविधा सहितको क्वारेन्टाइनको संख्या बृद्धि गर्ने ।’ बैठकको निर्णय सम्बन्धि जानकारी दिंदै उनले भने, ‘यसरी निर्माण गरिएको क्वारेन्टाइनहरुमा सम्बन्धित पालिकाका नागरिकहरुलाई राख्नुपरेमा आ–आफ्नो पालिकाका क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनको भौतिक तथा आर्थिक व्यवस्थापन सम्बन्धित पालिकाले गर्नेछ ।’
भारत र तेस्रो मुलुकबाट आउने अनिवार्य क्वारेन्टाइनमा
भारत तथा तेस्रो मुलुकबाट आउने नेपाली नागरिक र नेपालका अन्य जिल्लाहरुबाट काभ्रेमा आउने नेपालीहरु कम्तीमा १४ दिने क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय भएको प्रजिअ तिमिल्सिनाले जानकारी दिए ।
‘भारत तथा तेस्रो मुलुकबाट आउने नेपाली नागरिक र नेपालका अन्य जिल्लाहरुबाट यस जिल्लामा आउने नेपाली नागरिकहरुलाई सम्बन्धित पालिकाले कम्तीमा १४ दिनको क्वारेन्टाइनमा राख्नुपर्ने निर्णय गरेको छ ।’ उनले भने, ‘निजहरुको स्वास्थ्य परिक्षण पश्चात मात्र क्वारेन्टाइनबाट डिस्चार्ज गर्ने र व्यवस्था मिलाउनुपर्ने छ ।’
धुलिखेल अस्पतालमा कुरुवालाई क्वारेन्टाइन
जिल्लाको धुलिखेल अस्पतालमा कोभिड–१९ शंकास्पद विरामीका कुरुवाहरुलाई क्वारेन्टाइनमा राख्ने भएको छ । त्यसको लागि अस्पतालमा २५ बेडको क्वारेन्टाइन निर्माण गर्ने बैठकले निर्णय गरेको छ ।
‘धुलिखेल अस्पतालमा उपचारको लागि आउने कोभिड–१९ शंकास्पद विरामीका कुरुवाहरुलाई धुलिखेल नगरपािलकाको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने । यसरी विरामीको कुरुवा राख्ने कार्यका लागि २५ बेडको क्वारेन्टाइनको छुट््टै व्यवस्था गर्ने ।’ बैठकको निर्णयमा उल्लेख छ ।
धुलिखेल अस्पतालमा ५० बेडको आइसोलेशन
धुलिखेल अस्पतालमा ५० बेडको आइसोलेशन वार्ड बनाउने निर्णय गरेको छ ।
‘यस जिल्ला स्थित धुलिखेल अस्पतालमा कम्तीमा ५० बेडको आइसोलेशन वार्ड बनाउने । प्रस्तावित ५० बेडको उक्त आइसोलेशन बेडको भौतिक तथा आर्थिक व्यवस्थापनका लागि नेपाल सरकार, वागमती प्रदेश सरकार र जिल्ला स्थित स्थानीय सरकार एवं दातृ संस्थाहरुसँग अनुरोध गर्ने ।’ निर्णयमा उल्लेख छ ।
एक हप्ता भित्र रकम जम्मा गर्ने
जिल्ला स्तरीय क्वारेन्टाइन व्यवस्थापनका लागि नगरपालिकाले ५ लाख र गाउँपालिकाले ३ लाखका दरले रकम जम्मा गर्नुपर्ने निर्णय बैठकले गरेको छ ।
निर्णयमा भनिएको छः ‘भारत लगायत तेस्रो मुलुक तथा अन्य जिल्लाबाट समेत आएका काभ्रे जिल्लाका नागरिकहरुलाई प्रारम्भमा धुलिखेल नपा र बनेपामा बनाइएको क्वारेन्टाइनमा राखिने र त्यसरी राखिएका व्यक्तिहरुको प्रारम्भिक स्वास्थ्य परिक्षणमा आएका (आरडिटी र पिसिआर) परिक्षण गरी आ–आफ्ना ठेगानाका व्यक्तिहरुलाई सम्बन्धित पालिकामा पठाउने । त्यसरी धुलिखेल नगरपालिका र बनेपा नगरपालिकामा बनाईएको क्वारेन्टाईनमा अन्य स्थानीय तहका मानिसहरुालाई प्रारम्भिक रुपमा राख्दा लाग्ने भौतिक र आर्थिक व्यवस्थापनका लागि नगरपालिकाहरुले रु पाँचलाख, गाउँपालिकाहरुले रु ३ लाखका दरले प्राप्त हुने रकम धुलिखेल नगरपालिकामा एक हप्ता भित्र जम्मा गर्ने व्यवस्था मिलाउने ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।