सुदिन लामा
१३ जेष्ठ २०७७
खानीखोला । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ७ मा हावाहुरी र वर्षाका कारण दर्जनौं घर ध्वस्त हुनुका साथै वालीनाली समेत नष्ट भएको छ । आज करिब साँझ ५ बजे आएको हावाहुरीले घर र वालीनाली ध्वस्त भएको हो ।
भिडियो हेर्नुहोस्ः

घर ध्वस्त भएपछि स्थानीयमा रुवाबासी नै चलेको छ । घर ध्वस्त भएपछि स्थानीयलाई बासको समस्या भएको वडा अध्यक्ष क्षेत्रमान ग्याबाले जानकारी दिएका छन् । वडा नं. ७ का विभिन्न गाउँहरुमा हावाहुरी र वर्षाले ठूलो क्षति भएपछि वडा अध्यक्ष ग्याबाको नेतृत्वमा विवरण संकलन गरिरहेको छ ।

खानीखोला गाउँपालिका वडा नं. ७, च्योमन डाँडामा सबैभन्दा बढी क्षति भएको छ । सो गाउँमा दुर्गाबहादुर गोलेको भुकम्प प्रतिरोधी घरको जगसमेत ध्वस्त भएको छ । उनको २ वटा घर डिभिसी देखि नै उडाएको छ ।
त्यसैगरि खुमान घिसिङ, धनराज घिसिङ, विष्णुमाया गोले, सुनबहादुर घिसिङ, दुधराज गोलेको टहरो, हस्ताबहादुर ग्याबा, कृष्णबहादुर ग्याबा, डिलबहादुर थिङ, कनकबहादुर ग्याबा लगायतको घर र गोठको छाना हावाले उडाएको छ । हावाले उडाएको जस्ताले लागेर विरबहादुर गोले र रविना वाइबा, रेणुका गोले सहित ५ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

यसैबीच हावाहुरीले धाप्ले गाउँमा समेत क्षति पुर्याएको छ । सो गाउँमा रत्नबहादुर मोक्तानको पसल घरको टहरो, नेमबहादुर मोक्तानको कुखुरा फर्मको टहरो, टेकबहादुर मोक्तानको पलीको छानो, खिरबहादुर मोक्तानको घरको छानो उडाएको स्थानीय समाजसेवी टंकबहादुर मोक्तानले जानकारी दिएका छन् ।

मिल्चे गाउँमा पनि हावाहुरीले धेरै क्षति पुर्याएको वडा अध्यक्ष ग्याबाले जानकारी दिएका छन् । मिल्चेमा ज्ञानबहादुर तितुङ र लालबहादुर गोले, गोपाल ग्याबा, डिलबहादुर ग्याबा, सन्तबहादुर गोले, सञ्चमाया तितुङ, सूर्यबहादुर थोकर, ठूलोबाबु तितुङको घरमा क्षति पुगेको छ ।
पाकडोल गाउँमा भने हावाहुरीले छ्याईफेल कुन्डेलिङ गुम्बाको छानो उडाएको छ । खजुलीलेकमा लालबहादुर थिङको घरको छानो उडाएको छ ।

हावाहुरीले पाकडोल गाउँ, देउपाल, बोरोन लगायतको गाउँमा पनि क्षति पुगेको वडा अध्यक्ष ग्याबाले जानकारी दिए ।

क्षति विवरण संकलन भइरहेको ग्याबाले बताउँदै अनुगमन पछि पालिकाबाट क्षतिपूर्तिको व्यवस्था गर्ने बताए ।
यसैबीच तामाङ युवा एकता समाजका युवाहरु उद्धारमा लागेका छन् भने बस्ने व्यवस्था गर्न लागेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















