१४ जेष्ठ २०७७
काठमाडौं । कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न प्राविधिक समिति गठन गरेको छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. हरिबहादुर के.सी.ले नेपालमा सलह किरा आउन सक्ने सम्भावना उच्च रहेकोले त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए ।
अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा समेत आउने सम्भावना बढेको छ । यससँगै कृषि तथा पशुपन्छीं विकास मन्त्रालयले उक्त किराबाट नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति गठन गरेको हो ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि बैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरिएको सहसचिव के.सी.ले बताए ।
यो किरा भारतको राजस्थान हुँदै दिल्ली तथा आग्राको क्षेत्रसम्म आइपुगेको छ । नेपालमा पनि सूदुरपस्चिम प्रदेश र प्रदेश नम्बर पाँचमा सबैभन्दा पहिला आउन सक्ने अनुमान मन्त्रालयले गरेको छ ।
त्यसको लागि प्रदेश सरकारका सम्बन्धित मन्त्रालयहरुलाई जानकारी गराइसकेको प्रवक्त के.सी.को भनाई छ । यसैले विषादीको उपलब्धता र त्यसको प्रयोग गर्ने उपकरणको उपलब्धताको तयारीको प्रक्रियामा मन्त्रालय लागि सकेको उनले बताए ।
मन्त्रालयले सलह किराको आक्रमण र यसको जोखिम तथा रोकथामको बारेमा मिडिया मार्फत किसानहरुलाई जानकारी दिने तयारी समेत थालेको प्रवक्ता के.सी.ले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















