संकेतिक फोटो
१४ जेष्ठ २०७७
काभ्रे । जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ६ स्थित खाक्सी स्थित रोशी खोलाको बीचमा एकजना बृद्ध फसेका छन् । आज परेको अविरल वर्षाका कारण रोशी खोला ठूलो आएपछि स्थानीय ६० वर्षिय पञ्चलाल तामाङ फसेका हुन् ।
वारी पारी रोशीखोला र बीचमा अलिकति रहेको जमिनमा उनी फसेको उनकी बुहारी चन्द्रमाया तामाङले तेमाल अनलाईनलाई जानकारी दिए ।
बुहारी चन्द्रमायाका अनुसार पञ्चलाल १ बजे माछा मार्न घरबाट निस्केका थिए । अविराल वर्षाका कारण उनको खोजीनीति गर्न सकेको थिएन । ‘करिब चार बजेर तीस मिनेट तिर हामीले थाहा हामीले पायौं । साँझ ५ बजे हामी खोलाको छेउमा आईपुग्यौं ।’ चन्द्रमायाले भनिन्, ‘गाउँलेहरु जम्मा त भयौं तर उहाँको उद्धार गर्न कसैले सक्ने अवस्था नै छैन ।’
स्थानीयले उद्धार गर्न नसक्ने भएपछि जिल्ला प्रहरी कार्यालय, काभ्रेमा उद्धारको लागि टेलिफोन सम्पर्क गरेको चन्द्रमायाले बताईन् ।
सेना र प्रहरी उद्धारको लागि पठाउने जवाफ जिल्ला प्रहरी कार्यालय काभ्रेबाट आएपनि अहिलेसम्म उक्त स्थानमा कोही पनि नपुगेको उनले रुँदै भनिन् ।
यता जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौडेलसँग सम्पर्क गर्दा त्यस तर्फ नेपाली आर्मी र प्रहरी टोली लागेको बताए । ‘उहाँको उद्धारको लागि भकुण्डेबाट नेपाल आर्मी र खहरेपाँगुबाट नेपाली प्रहरी त्यस तर्फ लागिसेको छ ।’ एसपी पौडेलले भने ।
खोला घटेपनि मान्छेले उद्धार गर्न नसक्ने अवस्थामा रहेको स्थानीयले बताईरहँदा एसपी पौडेलले भने रातको समयमा हेलिकोप्टरको व्यवस्था गर्न नसक्ने बताए ।
नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले आप्ठयारो ठाउँमा परेको उद्धार गर्न कठीनाई भइरहेको बताए । ‘वर्षाका कारण गाडी जानसक्ने अवस्थामा छैन । नेपाल आर्मी उद्धारको लागि हिंडेर जाँदैछन् ।’ प्रमुख शर्माले भने, ‘रातीको समय हेलिकोप्टर लान सक्ने अवस्थामा छैन ।’

Comments

comments