काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुर्नउत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताएका छन् ।
१३ औं अन्तराष्ट्रिय सगरमाथा दिवसको उपलक्षमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्था अनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताएका हुन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको उनको भनाई छ ।
उउनले विगतमा गठन आदेशका भरमा हुँदै आएको पर्वतारोहण क्षेत्रलाई व्यवस्थित गर्न कानूनीरुपमा व्यवस्थित गर्ने प्रयास भइरहेको र छिट्टै नै पर्यटन ऐन ल्याइने बताए ।
ऐनले आरोहणको क्षेत्रमा देखिएका समस्यालाई नियमन गर्ने, आरोहीको हितलाई सुनिश्चित गर्ने, नेपालको पर्वतारोहणको क्षेत्रबाट अर्थतन्त्रलाई अझ बलियो बनाउने र थप रोजगारी सिर्जना गर्नेलगायत काममा मद्दत पुग्ने उनको भनाई थियो । उनले अन्तर्राष्ट्रिय सगरमाथा दिवसका आरोहीको योगदानको कदर गर्दै विभिन्न सम्मान, पुरस्कार दिने गरिएको भएपनि यो वर्ष कोभिडका कारण हुन नसकेको भन्दै सामान्य अवस्था भएपछि थाति कार्यक्रमलाई पूर्णता दिइने उल्लेख गरे ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकिएको शुक्रबार ६७ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगेका थिए । सगरमाथामा मानव पाइला परेको पहिलो दिन मे २९ लाई अन्तराष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।