१६ जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लामा क्वारेन्टाइनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने भएको छ । क्वारेन्टाइनमा केही सुरक्षा सम्बन्धी जटिलता आएपछि जिल्ला सुरक्षा समिति, काभ्रेले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
समितिका अनुसार विभिन्न पालिकामा निर्माण भएको क्वारेन्टाइनको सुरक्षाको जिम्मा नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, काभ्रे र सशस्त्र प्रहरी बललाई दिएको छ ।
विशेष गरि भारतबाट नेपाली नागरिकहरु आउने क्रम बढ्दै गएको र यस जिल्लाका नागरिकहरु समेत दैनिक रुपमा भारतबाट आइरहेको अवस्थालाई मध्यनजर गर्दै त्यसरी भारतबाट आएका नागरिकहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने भएको हुँदा क्वारेन्टाइनको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने निर्णय गरेको जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
डा. झाका अनुसार यस जिल्लाको विभिन्न पालिकाहरुमा बनाइएको क्वारेन्टाइनहरु मध्य बनेपा नपा, धुलिखेल नपा, पनौती नपा, नमोबुद्ध नपा, बेथानचोक गापा र रोशी गापामा निर्माण गरिएको क्वारेन्टाइनको सुरक्षा व्यवस्था नेपाली सेना विष्णुदल गणले मुख्य प्राथमिकताका साथ लिने, त्यसैगरी चौंरीदेउराली गापा, महाभारत गापा, खानीखोला गापा र तेमाल गापामा रहेका क्वारेन्टाइनको सुरक्षा व्यवस्था जिल्ला प्रहरी कार्यालय, काभ्रेले मुख्य प्राथमिकताका सथा लिने र पाँचखाल नपा, मण्डनदेउपुर नपा र भुम्लु गापामा निर्माण गरिएको क्वोरन्टनाइनको सुरक्षा व्यवस्था सशस्त्र प्रहरी बल १५ नं. गण हे.क्वा, पाँचखाल काभ्रेले मुख्य प्राथमिकताका साथ लिने निर्णय भएको छ ।
८५ जना क्वारेन्टाइनमा, १ जना आइसोलेशनमा
जिल्लाका विभिन्न पालिकामा निर्माण भएको क्वारेन्टनइनमा पुरुष ७५ र महिला १० जना गरि ८५ जना रहेको डा. झाले जानकारी दिए । उनका अनुसार जिल्लामा एकजना धुलिखेल अस्पतालको आइसोलेसन कक्षमा राखी उपचार भइरहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















