१८ जेष्ठ २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा १ सय ४ बेडको क्वारेन्टाइन स्थापना भएको छ । जिल्ला विपद व्यवस्थापन समिति, काभ्रेको निर्देशन बमोजिम तेमालमा क्वारेन्टाइन संख्या बढाइएको हो ।
गाउँपालिका अध्यक्ष सलामसिं तामाङका अनुसार प्रत्येक वडामा ११ बेडको दरले क्वारेन्टाइन स्थापना गरिएको छ । सबै वडामा स्थापनासँगै तेमाल गाउँपालिकामा १ सय ४ बेडको क्वारेन्टाइन स्थापना भएको छ ।
क्वारेन्टाइन कुन–कुन ठाउँमा छ त ?
अध्यक्ष तामाङका अनुसार वडा नं. १ को जनचेतना मावि, वडा नं. २ को सर्बोद्धार मावि, वडा नं. ३ को कालिका देवी प्रावि, वडा नं. ४ को तेमाल मावि, वडा नंं ५ को नारायणस्थान मावि, वडा नं. ६ को पुरानो स्वास्थ्य चौकीको भवन ठुलो पर्सेलमा, वडा नंं ८ मा क्वारेन्टाईन निर्माणमा विवाद भएपछि भोज्र्याङको नर्सरी भवनमा र वडा नं. ९ को बुद्ध किरण आविमा स्थापना भएको छ ।
विभिन्न देशबाट नेपाली नागरिक नेपाल ल्याउने भएपछि क्वारेन्टाइन निर्माण गर्न सबै स्थानीय तहलाई जिल्ला विपद व्यवस्थापन समितिले अनुरोध गरेको थियो ।
भारतबाट फर्किएका तेमालका नागरिकहरुलाई आजैदेखि क्वारेन्टाईनमा ल्याएर राखिने अध्यक्ष तामाङले जानकारी दिए । अहिले उनीहरु धुलिखेलको सञ्जीवनी माविमा स्थापना गरिएको क्वारेन्टाईनमा राखेको छ । स्थानीय तहहरुमा क्वारेन्टाइन निर्माण सम्पन्न भएपछि विदेशबाट आएका नेपाली नागरिकलाई सोही स्थानीय तहलाई नै जिम्मा दिने योजना बनाइएको थियो ।
९ वडा रहेको गाउँपालिकामा हरेक वडाले ११र११ वेडको क्वारेन्टाईन स्थापना गरेपछि गाउँपालिकामा क्वारेन्टाईनबेडको संख्या १ सय ४ पुगेको छ । यस अघि गाउँपालिकाले नारायणस्थानमा ५ वेडको क्वारेन्टाईन निर्माण गरिसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।