२४ जेठ २०७७
रामेछाप । जिल्लामा एकजना कोरोना संक्रमित फरार भएका छन् । गोकुलगंगा गाउँपालिका–४ बेतालीका ११ जना संक्रमित मध्य एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिएका छन् ।
कोरोना संक्रमित व्यक्ति फरार भएपछि उनको खोजी गर्न रातभर प्रहरी परिचालन गरिए पनि अझै पत्ता लाग्न सकेको छैन । स्वास्थ्य मन्त्रालयले गोकुलगंगा गाउँपालिकामा क्वारेन्टाइनमा बसेका ११ जनामा कोरोना संक्रमित भएको पुष्टि गर्नु अगाडि नै गाउँपालिकाले रिपोर्ट नेगेटिभ आएको जानकारीको आधारमा ११ जनालाई विदाइ गरेको थियो ।
तर लगत्तै जिल्ला स्वास्थ्य कार्यालयबाट ११ जनालाई रिपोर्ट पोजेटिभ आएको खबर गर्ना साथ गाउँपालिकाले बाटोमा पुगेका संक्रमितलाई सम्पर्क गरेर फर्काएको थियो ।
१० जना संक्रमित फर्किएर गाउँपालिकाको सम्पर्कमा आएपछि एक जना भने फरार भएका थिए ।
‘खोजी कार्य भइरहेको छ, पक्राउ पर्नासाथ जिल्ला अस्पताल रामेछाप ल्याउछौं ।’ पाठकले भने, ‘संक्रमित बसेका आसपासको क्षेत्रमा सिल गरेर सुरक्षा व्यवस्था कडाई गरेका छौं ।’
सम्पर्कमा आएका संक्रमित व्यक्तिहरुलाई राती नै जिल्ला अस्पताल रामेछापको आइसोलेनमा राखेर उपचार सूरु गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।