२६ जेष्ठ २०७७
रामेछाप । संक्रमण पुष्टि भएपछि फरार भएका रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिकाका एक संक्रमित दोलखा जिल्लामा फेला परेका छन् । कोरोना संक्रमण देखिए पछि तीन दिनदेखी फरार रहेका उनलाई तीनदिन पछि सोमबार प्रहरीले दोलखा जिल्लामा फेला पारेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले फरार भएका संक्रमित व्यक्तिलाई दोलखा जिल्लाको तामाकोशी गाउँपालिका च्यामाबाट नियन्त्रणमा लिइएको बताए । च्यामाका स्थानीयले हिड्दै गरेका ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेको र रामेछापबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रामेछाप ल्याई अहिले जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको कर्णले बताए ।
शुक्रबार गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना गरी १७ जनामा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो । यसमध्ये गोकुलगंगा गाउँपालिका दुई जना संक्रमित फरार भएका थिए । फरार दुईजनामध्ये एक जना शनिबार फेला परेका थिए भने एक जना संक्रमित बेपत्ता भएका थिए ।
गोकुलगंगा गाउँपालिकाले भारतबाट आएर क्वारेन्टिनमा बसेकालाई पीसीआर रिपोर्ट आउनुअघिनै घर पठाएको थियो । तर घर पठाइएकाहरुको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि दुईजना फरार भएका थिए । अहिले फेला पारिएका संक्रमित सहित कोरोना पुष्टि भएका १७ जनालाई जिल्ला अस्पतालको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















