२६ जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं. ११ का किसानहरुलाई हाते ट्याक्टर र घाँस काट्ने मेसिन वितरण गरेको छ । आज सोमबार एक कार्यक्रमका बीच नगर प्रमुख अशोक व्याञ्जुले किसानहरुलाई उक्त सामाग्री वितरण गरेका हुन् ।
व्याञ्जुले सो वडामा ११ वटा खेत खन्ने हाते ट्याक्टर र ११ वटा घाँस काट्ने मेसिन वितरण गरेका थिए । ट्याक्टर र घाँस काट्ने मेसिन किसानहरुलाई ५० प्रतिशन अनुदानमा वितरण गरिएको वडा अध्यक्ष विष्णु धितालले जानकारी दिएका छन् ।

खेतिपातीको समय भएकोले किसानको समस्यालाई मध्यनजर गरि नगरपालिकाले किसानलाई कृषि सामाग्री वितरण गरेको वडा अध्यक्ष धितालले बताए ।
वितरण गर्दै नगर प्रमुख व्याञ्जुले सामाग्रीको सदुपयोग गरि कृषि पेशालाई सहज बनाउन किसानहरुसँग अनुरोध गरे ।

लकडाउनले कृषि क्षेत्रलाई समेत नराम्रो प्रभाव पारेको अवस्थामा स्वास्थ्य अनुशासनलाई कायम गर्दै खेतीपातीमा लाग्न किसानहरुलाई उनले अनुरोध गरे । आफूलाई आवश्यक पर्ने कृषि सामाग्री पाएपछि किसानहरु खुशी भएका छन्।
३ घरधुरीलाई किटनासक औषधि वितरण
यसैबीच आजै नगर प्रमुख ब्याञ्जुले धुलिखेल नगरपालिका वडा नं. ९ मा मकैमा लाग्ने किरा नियन्त्रण गर्न किसानहरुालई किटनासक औषधि वितरण गरेका छन् । सो वडाका ३ सय घर धुरीलाई उक्त औषधि वितरण गरेका हुन् ।
पछिल्लो समयमा अमेरिकी फौजी किराका कारण मकै बाली नष्ट हुने अवस्थामा पुगेको छ । यसबाट किसानले राहत महसुस गरेका छन् ।
वितरण गर्न नगर उपप्रमुख विमला शर्मा समेत पुगेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।