हामीले लेखिसक्यौ कि शान्ति सम्झौता उप्रान्त ११ वर्षमा एउटै पनि माक्सवादी वैचारिक स्कुलिङ नगर्ने प्रचण्ड कम्पनीलाई एमाले गुटमा विलय हुनासाथ क्रान्तिकारी बहसको चमत्कार फुर्नेछ, भनेर पत्याउनु बाख्रा गोठालोको ढाँट र त्यसको परिणाम बाहेक अर्को हुन सक्दैन ।

हामी ०५८ सालमा रोल्पाको जनपरिषद भेलामा थियौँ।त्यहि सन्दर्भमा कुरा उठ्यो  प्रचण्ड र बाबुराम कस्तो मानिस हुनुहुन्छ ? जवाफ थियो, ‘बाबुराम वेद पढेर बस्ने बाहुन जस्ता र प्रचण्ड गाई–गोरु खरिद बिक्री गर्ने ब्यापारी जस्ता हुन् ।’

जनपरिषदको समेत १७ वर्षे माओवादी राजनीतिक सहयात्रामा मणि थापाको उक्त मूल्याङ्कन सही प्रमाणित भएको अनुभव हुन्छ ।

माक्र्सवाद– लेनिनवाद– माओवादको पथप्रदर्शनमा नेपाली क्रान्ति सम्पन्न गर्ने र त्यस अन्तर्गत उत्पीडित समुदायको पहिचान ब्यवस्था गर्ने छ बुँदे पत्रमा हस्ताक्षर गरेर हामी किरात वर्कर्स पार्टीको हैसियतमा नेकपा माओवादीमा एकीकृत भयौ । पार्टीमा विस्तारै सुन्न थालियो कि किरणको दर्शन, बाबुरामको अर्थशास्त्र तथा बादलको सैन्यविज्ञान जोडजाड गरेर प्रचण्ड नेता भएका छन् ।

जनयुद्धको पार्टी जीवन, प्रजातन्त्र भन्दै धोका दिने काङग्रेस र नौलो जनवाद भन्दै धोका दिने एमालेको कालो इतिहासले अँध्यारो नेपाली राजनीतिमा शुरुतिर प्रचण्डबारे टिप्पणीहरु बुझ्न निकै गाह्रो प¥यो । जनयुद्धद्धारा सर्वहारा आन्दोलन र आन्तरिक राष्ट्रियताको आन्दोलन समायोजनको अत्यन्त संवेदनशील ऐतिहासिक दायित्व निर्वाह गर्नैपर्ने तत्कालीन परिस्थिति थियो । आफ्नै माओवादी पार्टीको केन्द्रीय सदस्यलाई कथित ‘जातिवादी’ बिल्ला भिराउने अन्तरपार्टी षडयन्त्र बिरुद्ध खरो उत्रिनु पर्ने कठोर बाध्यता थिए ।

०६४ असोजमा पार्टीको किरात राज्य समितिले सोभियत युनिभर्सिटीको नाममा स्कुलिङ आयोजना ग¥यो । उपस्थित भएर प्रशिक्षित गर्ने बचन प्रचण्ड, बाबुराम, बादल कसैबाट पूरा भएन । संकटको स्थितिमा नेत्रबिक्रम चन्द विप्लवलाई सम्पर्क गरियो, नेपालगञ्जमा रहेको बताए । विप्लवको सहयोगमा गाईघाटस्थित कार्यक्रम राम्रै गरियो ।

प्रथम संविधानसभा निर्वाचनमा उक्त स्कुलिङको महत्वपूर्ण योगदान रह्यो । त्यसपछि पूर्वमा माक्र्सवादी स्कुलिङ कहिल्यै भएन । आफ्नो कार्यक्षेत्र पर्दा भारी प्रयत्न गरियोे । तर, माथिको निर्देशन र उपस्थिति बिना सहभागी हुन अस्वीकार गर्ने दास महाशयहरुको बन्धन तोड्नै सकिएन ।

उपलब्धी र कमजोरी सहितको संविधान जारी भयो । रातो स्टीकरको खतरा देखाउदै बाबुराम भट्टराईले माओवादी परित्याग गरे । केन्द्रीय समितिको बैठक बस्यो । हामीले सशक्त रुपमा वैचारिक कामको माग ग¥यौ । मुखपत्र सम्पादक मण्डलमा हामी (गोपाल किराती) र स्कुलिङ विभागमा आहुतिलाई जिम्मा तोकियो ।

उत्साहपूर्वक एकीकृत माओवादीको केन्द्रीय मुखपत्र ‘वैज्ञानिक समाजवाद’ प्रकाशन गरियो । तर, अर्को अंकको लागि प्रचण्ड लगायत नेताहरुले लेख रचना दिन बन्द गरे । मुखपत्र हो, जुनसुकै सामग्री प्रकाशित गर्नु भएन । ‘वैज्ञानिक समाजवाद–१’ पछि किरातीको भूमिका समाप्त गरियो । आहुतिको पनि त्यस्तै भयो, पेरिसडाँडामा उद्घाटनपछि स्कुलिङ सकियो ।

वैज्ञानिक समाजवादको प्रथम अंकमा ‘सामाजिक क्रान्तिमा दर्शनको महत्व’ शीर्षक प्रचण्डको छोटो लेख प्रकासित गरियो । त्यस लेखको निम्ति हामीले १८ पटक लाजिम्पाट दरबार धाउनु परेको कथा छुट्टै छ । त्यस लेखलाई आहुतिले ‘शान्ति सम्झौतामा आएपछि प्रचण्डको एक मात्र लेख’ को दर्जा दिए, जुन सही थियो ।

यहि हो प्रचण्ड कम्पनीको बिचारधारात्मक कामको प्रत्यक्ष बर्णन एवंम चरित्र पनि । अतः हामीलाई प्रष्ट थाह छ, एमालेकरणमा विलय भएर प्रचण्ड कम्पनीले गर्ने माओवाद स्थापना र क्रान्तिकारी कार्यदिशाबारे बिचारको बहस वा संर्घषको स्थिति, जसलाई, फिस्टा चराको आमाले ‘ तेरो खुट्टी देख्दै चाल पाएँ छोरी’ भनेको किस्सासित बाहेक अन्यत्र तुलना गर्न मिल्दैन ।

वास्तवमा एमाले गुटले रोजेको प्रचण्ड कम्पनीको त्यही कमजोरी हो, जुन वैज्ञानिक बिचारधारा र क्रान्तिकारी राजनीतिक कार्यदिशाबाट सतप्रतिशत प्रचण्डको पतन भइसकेको छ । र, हामीले विलय भनेर अस्वीकार गरेको कारण पनि त्यही हो, जुन क्रान्तिको निम्ति ऋणात्मक तथा संसदीय विसर्जनवादको निम्ति धनात्मक प्रचण्ड कम्पनीको जब्बर कमजोरी छ ।

ऐतिहासिक भौतिकवादी सच्चाई कि माक्र्सवाद–लेनिनवाद–माओवाद विकसित दुनिया बुझ्ने र मुख्यतः बदल्ने विज्ञान हो । बदल्ने मुख्य हो, तर बदल्नको निम्ति वैज्ञानिक ढंगले बुझ्न सक्नु प्राथमिक शर्त बन्छ । अतः वैज्ञानिक ढंगले बुझ्नको निम्ति वैज्ञानिक ढंगले पढ्न र लेख्न जरुरी छ । एक दशकमा एउटा, त्यो पनि हाम्रो अठार पटके तारेखको परिणामस्वरुप लेख दिने प्रचण्ड र उनको कम्पनीले विद्यमान दुनिया, विशेषतः नेपाली क्रान्ति बुझ्न कतिवटा पुुस्तक पढे होलान् र रचना लेखे होलान् ? यसरी प्रचण्ड एण्ड कम्पनीका मालिकहरु ब्यवहारवादमा पतन भएका छन् । व्यवहारवाद दक्षिणपन्थी अवसरवादको गुँड हो ।

प्रचण्ड कम्पनी आफुले त सर्वहारा क्रान्तिका लागि अध्ययन, लेखन गरेन गरेन, वैचारिक काममा जोडदिने हामीहरुलाई ‘कथित विद्धान’ भन्दै घोडाको चाबुक बर्साउछन् । के प्रचण्ड कम्पनीको वैचारिक शिक्षा नीति ‘पढि गुणी के काम, हलो जोति खायो माम’ नै हो ? त्यो त वर्णब्यवस्था आधारित राणाशासनको शिक्षा नीति भएन र ? यसरी प्रचण्ड कम्पनी माक्र्सवादी शिक्षालाई निरुत्साहित गर्छ, बद्नाम र निषेध गर्छ ।

विचारधारात्मक तथा क्रान्तिकारी कार्यदिशा निर्माणबारे यो हदको प्रतिगामी रवैया अख्तियार गरिरहेको प्रचण्ड कम्पनीले एमालेकरणमा के बहस गर्छ, के बिचार संघर्ष गर्छ रु आफ्नो नेतृत्वको माओवादीमा त बिचार संघर्षलाई निर्मम दमन गर्नेहरुले एमालेकरणमा विचार संघर्षको नारा दिनु वस्तुतः क्रान्तिकारीहरुको बिचार हत्या–षडयन्त्र बाहेक अरु हुन सक्दैन ।

मानौ कि हाम्रो मुल्याङकन गलत सावित भयो रे, प्रचण्ड कम्पनीले एमाले गुटलाई क्रान्तिकारी रुपान्तरण ग¥यो रे । त्यो त खुसीको कुरा हो । परन्तु, तथ्यको आधारमा सत्य खोज्ने माओवादी विधिले एमाले गुटको क्रान्तिकारी रुपान्तरण अस्वीकार गर्छ । विद्यमान चरित्रका कारण प्रचण्डबाट त्यस्तो उद्योग पनि अस्वीकार गर्छ । फेरि पनि मानौ, एमाले गुटलाई क्रान्तिकारी रुपान्तरणको प्रचण्ड उद्योग चल्यो रे ’ वैज्ञानिक स्टेफन हकिङस बाँचेर प्रचण्ड कम्पनीको जमर्कोमा एमाले गुट रुपान्तरणको आधार देखेका भए उनले सहजै भनिदिन्थे– ‘असम्भव’

हामी किन यसरी जोड गरिरहेका छौ भने प्रचण्डमा देखिएको नोवेल पुरस्कार आशक्ति र रक्त सम्बन्ध प्राथमिकता यस्तो तथ्य हो, जुन तथ्यले भन्छ– प्रचण्डले क्रान्तिको बाटो छोडिसकेका छन् र त्यसैले एमालेकरणद्धारा संसदवादमा हाम्फालेका छन् । नोवेल पुरस्कारको आशक्ति दोश्रो दलाई लामा बन्ने कदम हो भने रक्त सम्बन्ध प्राथमिकता रुमानियाको चाउचेश्कु ।

यो पनि भनिदिनै पर्छ कि क्रान्तिकारीहरुलाई विष पियाउदै प्रतिक्रान्तिको चिहानमा गाड्न प्रचण्ड कम्पनीले केही नाटक त अवश्य गर्छ नै । तर त्यस्तो क्रान्तिकारी नाटक साम्राज्यवादले पचाउन सक्ने छैन । वर्गसंघर्ष र बल प्रयोगको सिद्धान्त त्यागिसकेका मदन भण्डारीलाई समेत त्रिशुलीमा खसाल्ने तथा राजावादी मनमोहन अधिकारीलाई मार्न खोज्नेहरुले प्रचण्डलाई बाँकी राख्छन ?

परिणाम, सिधै त्रिशुलीमा खसालिने छन् । के त्यसको निम्ति प्रचण्ड तयार छन्रु उनको विद्यमान क्रियाकलाप र सम्भ्रान्तवर्गीय जीवनशैलीका आधारमा भन्नैपर्छ, त्रिशुलीमा खसालिन किमार्थ तयार छैनन् । आत्मसुरक्षावाद, उपभोक्तावाद र संसदवादको धमिराले जर्जर तुल्याएको प्रचण्ड कम्पनी क्रान्तिको निम्ति वलिदान गर्न तयार रहेको भए एमाले गुटको संसदवादमा हामफाल्ने नै थिएन । यो तथ्य नाङ्गो रुपमा प्रमाणित हुन उनीहरुको कथित एकता महाधिवेशन पर्खनु पर्छ ।

प्रसंगबस, घनश्याम भुषालको चर्चा जरुरी होला । निर्दलीय पञ्चायत विरोधी विद्यार्थी आन्दोलनका जुझारु नेता भुषाल हाल एमाले गुटको सिद्धान्तकार बताइन्छन् । तर घनश्याम भुषालको सिद्धान्त चाँही के हो ? माओवादी आन्दोलनका धेरैलाई जानकारी छैन । एमाले गुटको नवौ महाधिवेशनमा प्रस्तावित समाजवाद बैज्ञानिक हो कि काल्पनिक, त्यो पनि धेरैलाई जानकारी हुने कु्रै भएन ।

वस्तुतः घनश्याम भुषालको सिद्धान्त लेनिनवादी बल प्रयोगको सिद्धान्तलाई उखेलेर फाल्ने उद्योगमा केन्द्रीत छ । एकजना प्रध्यापक छन् , जो माक्र्सवादी आन्दोलनका बिषालु झारपात हुन, ती खुलेर लेनिनवादमाथि हमला गर्दछन् भने घनश्याम निकिता खु्रश्चेव झै लुकेर हमला गरिरेका छन् ।

एमाले गुटले उसको चौथो महाधिवेशनदेखि नै माओवाद परित्याग ग¥यो । अब लेनिनमाथि सम्पूर्ण हमला केन्द्रीत गरेको छ । लेनिनको बिचारलाई ध्वंश गरिसकेपछि कार्ल माक्र्सको चिहान खन्ने छन् । माओवाद परित्याग गरेको प्रचण्ड कम्पनी त्यस प्रतिक्रान्तिकारी अपराधको मतियार बन्दैछ । खड्ग ओलीले प्रष्ट भनिसकेका छन् कि ‘अब बन्ने पार्टी कम्युनिष्ट वा वाम पार्टी हुने छैन ।’ यसर्थ भुषाल सिद्धान्तको संसदवादी बिषमा बिखुमा फलाउने सपना स्वतःसिद्ध ब्यर्थ छ ।

हामी माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्तमा प्रतिबद्धहरु नेकपा माओवादी केन्द्र पुनर्गठन अभियानमा छौ । पुजीवादी गणतन्त्र निर्माणसम्म प्रचण्डले खेलेको सकारात्मक भुमिकालाई सम्मान गर्दै आगामी यात्राका निम्ति भने बिचार र राजनीतिमा आधारभूत अन्तरका कारण हामी छुट्टियौ । तर ‘जो चोर, उसैको ठुलो स्वर’ उक्ति झै क्रान्तिकारी बिचार र मुद्दा छाडेर भाग्ने प्रचण्ड कम्पनीले उल्टै हामीलाई ‘एमालेसित गएर बहस गर्नदेखि भागेको’ इत्यादि टिप्पनी गर्छन् । प्रचण्ड कम्पनीको उक्त टिप्पनी राजनीतिक हुदै होइन । हामीले त छ बुदे र सात बुदेलाई ‘दक्षिणपन्थी काण्ड’ भनेका छौ । त्यसको वैचारिक– राजनीतिक प्रतिवाद ‘भगौडा’ हुनै सक्दैन । वास्तवमा राजनीतिक दृष्ट्रिले पुनर्गठित माओवादी केन्द्रलाई के भन्नुपर्ने हो, प्रचण्ड कम्पनीमा शब्द नै रहेनछ ।

अन्त्यमा, महान जनयुद्धमा माओवादीले जातीय प्रश्नलाई नेपाली क्रान्तिको अभिन्न कार्यभार भनियो, जो सही हो । तर आन्तरिक ब्यवहारमा पछिल्लो समय बहुसंख्यक नेताहरु पहिचाहन आन्दोलनका शत्रु भइसकेका थिए । ती सँगको अन्तरसंघर्ष असाध्य कठोर थियो । तब वर्गीय र जातीय मुक्ति–दुवै हिसाबले प्रचण्डहरुको एमालेकरणलाई माओवादी केन्द्रले ‘विलय’ भन्यो । २१ असोज ०७४ को छलफलमा प्रचण्डसँग हामीले भन्यौ–‘ मारिएको भए यो गोपाल किराती माओवादी हुन्थ्यो, बाँचेको हुदा जातिवादी रु’ प्रचण्डसँगको पार्टी जीवनमा यस्ता अनेक संन्दर्भहरु छन्, जुन स्वभावैले क्रान्तिकारी या प्रतिक्रान्तिकारी चुनौती बन्न पुग्छन् ।

अतः जीवनले प्रमाणित गरेर देखाउनुछ, आखिर हामी को के ‘वादी’ रहेछौ ?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।