२७ जेष्ठ २०७७ चितवन । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ ।
गत माघको १९ गतेदेखि २७ गतेसम्म आयोजित धनधान्यान्चल महायज्ञबाट बोलकबोल सहितको ६९ करोड ४० लाख ५६ हजार रकम मध्य संकलित सात करोड १४ लाख ५६ हजार ६ सय ८४ को चेक सोमबार रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा धनधान्यान्चल मुल समारोह समितीका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरेका हुन् ।
प्रदेश र स्थानीय तहले घोषणा गरेको ५१ करोड ९२ लाख ६५ हजार २ सय ६३ रुँपैया उठ्न बाँकी रहेको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए। साथै महायज्ञमार्फत २८ हजार दाताले रङ्गशाला निर्माणका लागि सहयोग गरेको उनेले बताए । महायज्ञमा निजी क्षेत्र, सङ्घसंस्था र नागरिकका तर्फबाट १७ करोड ४६ लाख सहयोगको घोषणा गरिएको समितिले जनाएको छ ।
यस्तै प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले दुई करोड २२ लाख सहयोग गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष कट्टेल ‘धुर्मुस’ले दाताहरुलाई महायज्ञमा बोले अनुसारको रकम सहयोग गर्न आग्रह गरे । उनले लकडाउनका कारण रङ्गशाला निर्माणको काम प्रभावित भए पनि नेपाल सरकारले सुझायका स्वास्थ सुरक्षाका नितिहरु अपनाउदै आशिंक रुपमा निर्माण कार्यलाई निरन्तरता दिएको बताए।





















