३१ जेष्ठ २०७७ काठमाडौं । प्रधानसम्पादक नियुक्त भएकै दिनदेखि पे्रस संगठन निकट पत्रकारहरुमाथि खेदो खन्दै आएका हरिबहादुर थापा अन्नतः अन्नपूर्णपोस्ट दैनिकबाट बाहिरिएका छन् ।
कान्तिपुर दैनिकको प्रधान सम्पादक हुन नसकेपछि काभे्रली सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको शरण परेर अन्नपूर्णपोस्ट पुगेका थापाले त्यहाँ प्रवेश पाउनासाथ राजनीतिक इगो देखाउँदै पे्रस संगठन निकट पत्रकारहरुलाई अनेक बहानामा दुःख दिन थालेका थिए । उनीबाट पीडित सञ्चारकर्मीहरु भन्छन्–‘ थापा आएकै दिनदेखि अन्नपूर्णपोस्टमा युनियन निकट पत्रकारलाई काखी च्याप्ने र हामीलाई पाखा लगाउने काम सुरु गरे ।’
कोरोना त्रासका कारण सरकारले लकडाउन घोषणा गरेपछि नेपाली सञ्चार क्षेत्रमा पनि ठूलै उथलपुथल आयो । कतिपय मिडिया हाउस नै बन्द गर्नुपर्ने अवस्थामा पुगे । अन्नपुर्णपोस्ट पनि यो महामारी झेल्न बाध्य भयो । संकटको यो अवस्थालाई पार लगाउन गत वैशाखमा अन्नपुर्ण मिडिया गु्रपले सम्पादकीय नेतृत्वसहित सबै विभागीय प्रमुखहरुको वैठक डाकेको थियो ।
वैठकमा थापाले आफू लगायत अन्नपूर्णपोस्टमा कार्यरत पत्रकारहरुले केही महिना आधा तलबमा काम गर्ने प्रस्ताव गरे । उनको यस्तो प्रस्ताव आएपछि वैठकमा सहभागी अन्य पत्रकार र कर्मचारीले पनि समर्थन जनाए । तर, वैठक सकेर बाहिरिनासाथ थापा आफैंले प्रस्ताव गरेको निर्णयविरुद्ध बोल्न थाले ।
कहिले सामाजिक सञ्जाल र कहिले अन्य मिडिया प्रयोग गरेर आफू कार्यरत सञ्चारसंस्थामाथि विषवमन गर्न थालेपछि अन्ततः उनले अन्नपूर्णपोस्टबाट हात धुनुपर्ने अवस्था आएको हो । उनी अहिले पत्रकारहरुले समयमा पैसा नपाएकाले राजीनामा दिएको बताउँदै हिंडेका छन् । तर, यथार्थ भने धेरै फरक छ । अन्नपूर्णपोस्टमा काँगे्रस निकट पत्रकारहरुको हालीमुहाली मच्चाउन गरिएको कसरतमा असफलता हात लागेपछि उनी बाहिरिएको त्यहाँ कार्यरत सञ्चारकर्मीहरु बताउँछन् ।
२०७५ साउनमा अन्नपूर्णपोस्ट छिरेका थापाले विहिवार राजिनामा बुझाएका हुन् । तर, उनले राजनीनामा दिएको खबर बुधवार नै कांँगे्रस निकट केही अनलाइनहरुमा आइसकेको थियो । व्यवस्थापनसमक्ष राजीनामा बुझाउनुअघि श्रमजीवी पत्रकारहरुको पक्षपोषण गरेजस्तो देखाउँदै प्रचारमा उत्रेका थापाले अन्नपूर्णपोस्टमा रहँदा राजनीतिक इगो साँधेर दुःख दिएका श्रमजीवी पत्रकारहरुको सूची लामै छ । प्रेस संगठन निकट मानिने संगीत श्रोता, राजु स्याङ्तान, मधेस विट हेर्ने नविन झा लगायतका ६ जना पत्रकारलाई उनले जागीरबाटै हटाए ।
युनियन निकटका जिल्ला संवाददाताको जस्तो पनि समाचार प्रकाशन गर्ने र प्रेस संगठन निकट संवाददाताको समाचार प्रकाशन नगरी निष्क्रिय बनाउने काममा पनि थापाको ठूलो हात रहेको बताइन्छ । त्यस्तै आफू प्रधानसम्पादक नियुक्त हुनासाथ कान्तिपुरबाट चन्द्रशेखर अधिकारीलाई ल्याई राजनीतिक व्युरो प्रमुख बनाए । त्यस्तै विकास थापा र विश्वराज खनाललाई महत्वपूर्ण जिम्मेवारी दिए ।
काँगे्रस र कम्युनिष्ट पत्रकारबीच ध्रुबीकरण गराउन खप्पिस थापा सहकर्मीमार्झ नेपाली काँगे्रसको नेताकै रुपमा प्रस्तुत हुने गरेका छन् । काभे्रको पाँचखाल स्थायी घर भएका थापा काँगे्रस सभापति शेरबहादुर देउवाको फेरो समाएर आगामी स्थानीय तह चुनावमा पाँचखालको मेयरका लागि टिकट लिन ध्याउन्नमा रहेको काभे्र काँगे्रसका एक नेता बताउँछन् । तर, उनले जिल्लामा हुने राजनीतिक गतिविधिमा सहभागिता जनाउनु त परको कुरा जस्तै संकटको बेला पनि जिल्लाबासीलाई साथ नदिएकाले उनको अभीष्ट कुनै हालतमा पूरा हुन नदिने ती नेता बताउँछन् ।
अन्नपूर्ण मिडिया ग्रुपका अध्यक्ष क्याप्टेन रामेश्वर थापा आफ्नै जिल्लाबासी दाजुभाइ भएकाले आफूले जे गर्दा पनि हुन्छ भन्दै सहकर्मीहरुलाई दुःख दिंदै आएका थापा अव एक भारतीय व्यापारीको लगानीमा सञ्चालन हुन लागेको अनलाइनको सम्पादक बन्ने तयारीमा रहेको स्रोतले जनाएको छ । सो अनलाइनका लागि उनले अन्नप्रूर्णमा कार्यरत पत्रकारहरुलाई बढी तलब र सुविधाको लोभ देखाएर भड्काउँदै आएका थिए । उनको भड्काउमा परेका पत्रकारहरु अहिले हरिबहादुर रबैया सम्झँदै पुर्पुरोमा हात राखेर बसेका छन् ।
श्रमजीवी पत्रकारले तलव नपाएकोे कारण देखाउँदै थापाले राजीनामा दिए पनि अन्नपूर्णपोस्टमा कार्यरत सबै पत्रकारहरुले नियमित तलव पाइरहेको त्यहाँ कार्यरत एक सञ्चारकर्मी बताउँछन् । लकडाउनका कारण घरमै बसेर काम गरेका कतिपय पत्रकार त पेश्कीस्वरुप बढी रकम पनि पाएको बताउँछन् । न्यूनतम पारिश्रमिक पूर्ण रुपमा लागू भएको अन्नपूर्ण मिडिया ग्रुपले यो संकटका बेला २५ हजारसम्म तलव खाने पत्रकार र कर्मचारीलाई पूरै तलव दिएको अन्नपूर्ण स्रोतले बताएको छ ।