३१ जेष्ठ २०७७
बेथानचोक । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. १ बाट खानीखोला जोड्ने सडक मनोमानी रुपले निर्माण गरेको पाइएको छ । प्राविधिक स्टमेट बेगर मानवीय बस्तीलाई नै असर गर्ने गरी कमजोर भुभाग खनेर निर्माण गरेको पाइएको हो ।
सिमित व्यक्तिको आकांक्षालाई पूरा गर्ने हेतुले राजनीतिक पूर्वाग्रह समेत राखेर सडक निर्माणको नक्सा परिवर्तन गर्दा तीन घर उच्च जोखिममा परेका छन् । स्टमेटमा उल्लेख भए विपरित सडक खन्न २÷३ पटक कुखुरे भोज समेत लगाइएको समाचार श्रोतले बताएको छ । नक्सा विपरित बाटो खन्न स्थानीय जनप्रतिनीधिको पनि संलग्नता रहेको पाइएको छ । गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष लगायत अन्य स्थानीय जनप्रतिनीधि तथा स्थानीय प्रशासनका कर्मचारी समेत कुखुरे भोजमा समाहित भएको पाइएको छ ।
बागमति प्रदेश मातहात निर्माण भईरहेको उक्त सडक खण्डमा अमृता कन्स्ट्रक्सनले काम गरिरहेको छ ।
उक्त सडक हेर्ने इन्जिनियर दीपेन्द्रकुमार रोहित भन्छन्– “सडकलाई स्टमेट बेगर घुमाउन बेथानचोक–१ का वडा अध्यक्षले फोन सम्पर्क गर्नुभएको थियो तर मैले लिखित तथा मौखिक सहमति दिएको छ्रैन ।”
केही स्थानीय, स्थानीय जनप्रतिनीधिको मिलामतोमा प्राविधिक स्टमेटमा उल्लेख भए विपरित कमजोर भुभाग खनेर सडक निर्माण गर्दा तीन घर उच्च जोखिममा परेका छन भने खानेपानी, विद्यालयलाई समेत दीर्घकालीन असर पर्ने देखिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















