३१ जेष्ठ २०७७
धुलिखेल । धुलिखेल नगरपालिकाको वडा नम्बर १ देवीटारमा रहेको खानेपानी आयोजनाको नगर प्रमुख अशोक व्याञ्जुले अनुगमन गरेका छन् । आज (शनिबार) नगर प्रमुख ब्याञ्जुले देवीटार खानेपानी आयोजना र फोक्सेभिर खानेपानी आयोजनाको अनुगमन गरेका हुन् ।
दुवै आयोजना निर्माणको अन्तिम चरणमा पुगेको वडा अध्यक्ष रमेश प्रसाद घोरासाइनेले जानकारी दिए । वडा नम्बर १ को देवीटारमा १० लाख आर्थिक सहयोगमा सञ्चालन भएको योजना मुहान देखि ट्याङकी निर्माणसम्मको काम सकिएको वडा अध्यक्ष घोरोसाइनेले बताए ।

त्यस्तै फोक्सेभिर खानेपानी आयोजनाको ७० प्रतिशत काम सकिएको घोरासइनेले जानकारी दिए । यो खानेपानी आयोजनाको काम पनि चालु आर्थिक वर्षभित्र सकिने छ । नगरपालिकाको आर्थिक सहयोगमा भइरहेको छ ।
यी दुई वटा आयोजना सम्पन्न भएपछि सो वडाका ४ सय घरधुरी लाभान्वित हुनेछन् । धारा जडानको काम भने आगामी आर्थिक वर्षबाट सुरु हुनेछ । एक घर, एक धारा कार्यक्रम अन्तर्गत खानेपानी आयोजना सुरु भएको र काम सोचेअनुसार नै भइरहेको नगरप्रमुख ब्याञ्जुले बताए । ‘नगरको एकघर एक धारा अभियान अन्तर्गत यो खानेपानी आयोजनाको शुरु भएको हो ।’ व्याञ्जुले भने, ‘नगरको आर्थिक सहयोगबाट निर्माणाधिन यो आयोजना सोचेअनुसार नै भइरहेको पाइएको छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।