आदरनीय तामाङ दाजुभाइ तथा दिदीबहिनीहरु
लास्सो ताम्सालीङ फ्याफुल्ला
ऐतिहासिक कालखण्ड देखि तामाङ समुदाय याम्बु (काठमाडौ) र याम्बुसँगै जोडिएका वरपर रिङका जिल्लाहरुमा सघन बस्तिका रुपमा बसोवास गर्दै आएका छन्। तामाङ जाति नेपालको ? आदिवासी जनजाति मध्येका एक प्रमुख जाति हो । यसका आफ्नै भाषा, धर्म, कला, साहित्य, सँस्कृति, रितिरीवाज, रहनशहन, भेषभुसा, सामाजिक र आर्थिक मुल्य मान्यता रहदै आएको छ ।
समाज विकास क्रममा कबिला, दास सामन्त हुँदै सामन्त राजा ब्यबस्थासम्म तामाङहरुको आफ्नै नेतृत्वमा राज्य अभ्यास गरेको पाईन्छ । जस्तैः पृथ्वीनारायण शाहले नेपालको एकीकरण अभियान थालनी गर्नु अघि पुर्वमा २२ लिम्बूवान, पश्चिममा २४ मगरात, ढोरपाटनमा भुजियार भुजेल राज्य, काठमाडौ उपत्यकामा ३ वटा नेवा राज्य, काठमाडौं वरपर ताम्सालीङमा १२ देखि १८ तामाङ राज्य रहेको पाउछौ । हामी ती राज्यहरुको एकीकरण वा बिलोपीकरणलाई आधुनिक वा नयाँ नेपाल भन्दै आएका छौ। पृथ्वीनारायण शाहले स–साना राज्यहरुसँगै भुगोलको एकिकरण मात्र गरेनन् यहाँ भाषा, कला, साहित्य, सँस्कार, संस्कृति, भेषभुषा, चाडपर्व, राजनीति, प्रशासन, सुरक्षा, राजनीतिसँगै राज्यसत्ता र राज्यशक्ति एउटै जाति वर्ग समुदायमा केन्द्रीकरण गर्दै आएका पाउछौ । राज्यसत्ताको हार पश्चात राज्य बिहिन समुदायहरु एउटै वर्ग समुदायको राज्यसत्ताको उत्पीडनमा रहन बाँध्य भए ।
तामाङहरुलाई पनि यही मार खेप्न बाँध्य बनाए । तामाङहरु सोझा, ईमान्दार, निडर र सुरा जाति भएकै कारण पृथ्वीनारायण शाहले गोर्खा, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, सिन्दुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे र भक्तपुर ललितपुर काठमाडौका ग्रामिणमा रहेका तामाङ राज्यलाई हात लिन धेरै पटक युद्ध गर्नु परेको थियो। आफ्नो राज्यको धेरै सम्पति, समय र सेना खर्चनु परेको थियो । कुनै बेला बखत यी तामाङ समुदाय संगठित भएर लड्न सक्छन् भन्ने भय, त्रास र डर पृथ्वीनारायण शाहलाई मात्र नभएर आजसम्म कै शासकहरुमा यो फोबियाँरमनरोग एव दुरदशा पाईन्छ। कुनै पनि बेला यी मान्छेहरुले राज्यसत्ता कब्जामा लिन सक्छन् भन्ने मनोरोगले ग्रस्त शासक वर्गले तामाङ जातिलाई कहिल्यै ईतिहासमा उठ्ने मौका नै दिएनन । सधै भरि आफ्नो नियन्त्रण र दमन शोसनमा राखि राखे । राज्यसत्ताको कुनै पनि अंगमा यी समुदायलाई समेट्ने योजना बनाएनन् । जस्तैः सेना, प्रहरी, कर्मचारी, प्रशासन, अदालत आदि सबैबाट बाहिर राख्न पुगे। सरकारी र निजामती सेवामा काहीँ कतै पनि जागिर खान पाउदैन थियो। सेना, प्रहरी, निजामति कर्मचारीमा जागिर खान नाम थर ढाँटेर खानु पर्ने दुरदशा राज्यसत्ताले सिर्जना गरे।
आजसम्म आउदा पनि तिनीहरुका सन्तानहरुको नागरिकता तामाङ बनाउन सकिरहेको छैन। तामाङ हुदाहुदै पनि बाध्य भएर केही तामाङ सन्तानले गुरुङ, घर्ती, मगर, राई, लिम्बु, घले लेख्न बाद्य बनाएका छन्। नेपालको जिल्ला प्रशासन कार्यालयले बंशजको आधारमा दिईने नागरिकताका कारण। कतिपय जिल्ला प्रशासनका प्रमुख सिडियोहरुलाई त तामाङ, मगर, गरुङ, राई, लिम्बू, नेवार आदि भित्रका उपथर वा वर्ग नै थाहा हुदैनन।
कुन जातिको मान्छे हो उसले चिन्नै सक्दैन अनि जनतालाई कसरी उसले सेवा प्रदान गरेको होलान। सिधा सोझै बुझ्न सकिन्छ जनताले दुस्ख पाईरहेका छन् । केही तामाडहरुले त्यसो गरेर पनि जागिर खान पुगे। सेनामा विभेद गरेको कारण राणाकालमै तामाङहरुले दुई पटकसम्म सैनिक बिद्रोह गरे। तामाङहरु नाम थर ढाटेर गुरुङ, मगर, घर्ती, राई, लिम्बू, घले थर लेखेर जागिर खाँदा पनि सुख्ख पाएनन्। उनीहरुका निमित सेना भित्र निस्त्रिकरण गर्न पिपा गोश्वारा खडा गरे। त्यस पछि तामाङहरुको जिन्दगी भोनेको भारी बोकेर खाने भन्दा अरु केही रहेन। पुरानो शिक्षाको कक्षा–८ को पुस्तकमा त भारी बोकेर खाने जाति भनी आम तामाङहरुको उल्टै अपमान गर्ने काम भयो ।
तामाङहरुलाई देशका ठुला ठुला भवन, दरवार, मन्दिर बनाउदा भारी बोकाउने गर्थे। उनीहरुले दिनभरी काम गरेबापत पाउनु पर्ने ज्यालासम्म पनि पाउदैन थियो। अरुलाई ज्याला दिन्थे भने उनीहरुलाई चाहिँ ज्याला नदिई काममा लगाउथे। शारीरिक श्रम शोसन गरिन्थ्यो। तामाङका राम्रा छोरी चेली दरवारका शासकका भोग लिलाका लागि बुझाउनु पर्दथियो। उनीहरुलाई स्याहारे, सुसारे, बडारे, माली, धाई आमा बनाई मनोरन्जन साधनका लागि दरवारमा राखिन्थे। राणाहरु दिल्ली, बम्बाई भारत जाँदा लिएर जान्थे र त्यहाँ शासकका निमित उपाहार दिन्थे कि बेचेर पैसा लिएर आउथे। आज पनि तामाङहरुले काहीँ कतै केटी भारत लगेर बेचेको खबर सुन्छौ भने त्यसकै जिबन्त अबशेष हो।
इतिहास जित्नेको हो हार्नेको हुँदैन। हार्नेको खासै लेखिदैन त्यहि भएर इतिहास जित्नेको मात्र लेखिन्छ । नलेखिएका ईतिहासहरु गुम्ने, हराउने, बिलाउने र लोप हुने हुन्छ । आज यस्तै भएको पाईन्छ किनकि आधुनिक ईतिहासकार एवं ईतिहास बिद भन्नेहरु नै तामाङको ईतिहास बारे केही थाहा हुदैनन। स्कुल र कलेजहरुमा ईतिहास, मानवशास्त्र, सामाजिक, नेपाली पढाउछन् तर उ आफैलाई तामाङको ईतिहास अनि पृथ्वीनारायण शाहको चार वर्ण छत्तीस जात भित्र को को हुन भनी बिद्यार्थीले प्रश्न गर्दा उसैलाई थाहा हुँदैन।
हेर्नुहोस त आज हामी तामाङ समुदायले यस्ता पाखण्डी, बुद्दुहरुलाई जबर जस्त ईतिहासका शिक्षक, प्राचार्य र ईतिहास बिद, सँस्कृति बिद भनेर मान्दिनु परेको छ। अब इतिहास बिदहरुको पनि बिधा छुटाएर छुट्टाछुट्टै बिद भन्नु पर्ने बेला आएको छ। जसलाई तामाङको ईतिहास थाहा छैन आज उसैलाई शिक्षक, प्राचार्य र नेपाली इतिहासकार, ईतिहासबिद, संस्कृतिबिद मान्दिनु पर्ने । आफैलाई लाज र सरम लाग्नु पर्ने हो आफ्नो बिज्ञतामा।
यस्ता राज्यसत्ताका ढ्वाङ्गीहरुले पढाएका बिद्यार्थीहरुले पनि के सिक्ने हुन्। झगोपी कृष्ण काउ झ सर किन सुगाले यसो मात्र भन्छन्? बिचरा बिद्यार्थीहरुलाई किन यसो भनी पढाउछन् उनिहरुलाई थाहा हुने कुरै भएन। शिक्षक प्राचार्यहरु पनि यस बुर्जुवा राज्यसत्ताका कर्मचारीहरु त हुन् भन्ने कुरा बुझ्दैन। तबmबलन ष्क तजभ mयकत दबअपधबचमक अयmmगलष्तथ ष्ल लभउब िहो तामाङ समुदाय नेपालको सबै भन्दा पछि परेका मानिसहरु हुन्। यहाँका शासकहरुले कहिल्यै पनि तामाङको भावना, पिडा, मन मर्म र समस्यालाई बुझ्नुको सट्टामा फुटाउ राज गर ९मष्खष्मभ बलम चगभि० कुट नीति प्रयोग गर्न सफल भए। जो बेलायतले सोहै् शताब्दीमै यो सिदान्तमा टेकि साम्राज्यवाद फौलाउन सफल भएको थियो। नेपालमा तामाङ जातिलाई जति अरु कुनै जातिलाई राज्यसत्ताले दमन गरेको ईतिहास पाईदैन।
एकीकरण पश्चात राज्य र भुमि दुबै गुमाउन पुगे। आफ्नो घर खेत वारि आफ्ना दाजुभाई सबै त्यागी ज्यान बचाउन भाग्नुको बिकल्प थिएन। युद्धले तामाङहरुलाई चितर बितार पारे कुनै एकै ठाउमा जमात भएर बस्न दिएनन तत् पश्चात् युद्धको डर, त्रास सन्त्रास भयले गर्दा पुर्व पश्चिम, तराई, पहाड जताततै फिजिन पुगे। शासक वर्ग तामाङहरु मिलेर युद्ध अथवा बिद्रोह गर्लान भन्ने डर त्रासले उपत्यका लगायत तामाङ जातिले खनजोत भोग चलन गर्दै आएका राम्रा जग्गा जमिन राज्यले हडबेर खेद्ने काम गरे। आफु र आफ्ना सन्तानको ज्यान बचाउन पहाडका डाडाँ पाखा एकान्तमा गई बस्न थाले। तामाङका राम्रा जग्गा कब्जा गरेर मन्दिरको नाममा गुठी, विभिन्न जातिहरुको नाममा उनीहरुलाई बिर्ता बाँडे। आज पनि सिङ्गै डाँडाहरु काहीँ मठ मन्दिरको नाममा त केही उब्जाउशील जमिन जाति, समूह र ब्यक्तिको नाममा जग्गाहरु बिर्ता रहदै आएको छ।
हिजोका राज्यसत्ताले गरेको निर्मम दमनका कारण युद्ध रणनैतिक हिसाबले अलि सुरक्षित ठाऊँ पहाड र अग्ला डाँडाहरुमा गई तामाङहरु बस्न थाले। राज्यसत्ताको कामकाजी भाषा खस नेपाली बनाए। त्यस पछि नेपालका तामाङ लगायत सम्पुर्ण आदीवासी जनजातिलाई जबरजस्त नेपाली खस भाषा बोल्न, पढ्न बाँध्य तुलाईयो । मातृभाषाहरु सरकारी कार्यालय, विद्यालय, कलेजमा बोल्न लेख्न नपाईने गरे। आदीवासीहरुको आआफ्नै मातृभाषा बिकास, सम्रक्षण र सम्बद्र्धन गरि दिनुको सट्टा बन्देज लगाईयो। तामाङ लगायत सबै भाषाभाषी माथि नेपाली खस भाषाको दबदवा र दमन रहयो । भाषा सँगसँगै धर्म संस्कृति र चाडपर्व माथि पनि हस्तक्षेप र दमन गरे ।
तामाङ पुर्खाहरुलाई अनिवार्य दशै र तिहार मान्न लगाए । बौद्ध तामाङहरुलाई दशैमा अनिवार्य कुखुरा काटी मुल ढोकाको भित्र माथि कुखुराको भुत्ला टास्नु पर्ने र रतगको छाप हुनु पर्ने नत्र यसले दशै मनेको रहेनछ भनी बुझ्ने। त्यस्ता मान्छेहरूलाई कारवाही गर्ने । नटेर्ने र नमान्नेलाई दिन भरी काम गरे बापत एक दाम पैसा ज्याला पाउथियो भने त्यतिखेर १०।१५ पैसासम्म हाम्रा पुर्खाहरुले जरिवाना तिर्नु पर्दथियो।
राज्यसत्ताका जनगणकहरु जनसंख्या टिपोट गर्न गाउँ जाने नाम, थर, परिवार संख्या सबै सोध्ने । धर्म कुन मान्नु हुन्छ भनी सोध्नुको सट्टा तपाईं दशै् तिहार मान्नु हुन्छ कि हुन्न भनी गणकले प्रश्न गर्ने । दशै तिहार मान्छु भने पछि नसोधीकन धर्मको कोलममा हिन्दु लेखिदिने। आज २१ औ् शताब्दीमा आएर पनि भाषा संस्कृति र धर्म माथि राज्यसत्ताले तामाङ लगातय आदीवासी जनजातिहरुलाई दमन गर्दै आईरहेको अबस्था छ। मातृभाषी जातिहरुमा फुटाउ राज गर नीतिको रुपमा उनीहरु आफै तामाङ लगायत विभिन्न जातिहरुको भाषा, संस्कृति बिज्ञ आफै तोकि दिन्छन्, फलानो हो भनी घोषणा गर्छन् । मातृभाषी बिच झगडा गराई दिन्छन् । जो मान्छेलाई अरुको भाषा राम्रोसँग बोल्न,लेख्न र उसका कला, साहित्य संस्कार सस्कृति मूल्य र मान्यताको बारेमा केही थाहा हुदैन उसले अर्काको भाषाको फलानो हो भनी तोक्ने काम कति जायज होला। अझ शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालयमा त भाषा सम्बन्धिका बिशेसज्ञ नेपालीभाषि आफ्फै हुने हेर्नोस। सर्बोच्च अदालतले त काठमाडौ र धनुषा जिल्लाका सरकारी कामकाजी प्रयोजनको रुपमा नेवा र मौथली भोजपुरी भाषा प्रयोग गर्न पाउ भन्ने रिटदारमा नेवा भोजपुरी मैथली भाषा सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न नपाउने भनी उल्टै फैसला सुनाए। आज सर्वोच्चले त्यो निर्णय सुनुवाई गरेको दिन २०५८ जेष्ठ १४ लाई यहाँका आदिवासी जनजातिहरुले भाषिक कालो दिबसर कालो दिन मान्दै आएका छन् ।
२०५५ को शिक्षा ऐनले सबैलाई शिक्षा कार्यक्रम अन्तरगत प्राथमिक तहसम्म मातृभाषामा पठन पाठन गर्न पाउने भनी नियम मात्र बनाए आजसम्म यो कार्यान्वन भएको छैन। कार्यान्वयनमा ल्याएका पनि छैनन्। राज्यले भाषिक शिक्षक दरबन्दीको ब्यबस्था नगरि दिने अनि काहाँबाट कार्यान्वयन हुन्छ। यो बुर्जुवाहरुको शिक्षा प्रणाली यस्तै हुने हो। दिमाग र मुख फोर्न सिकाउने हात खुट्टा बानेर राख्ने शिक्षा पद्धति के काम। नपढेर पनि काम छैन पढेर पनि काम छैन, सबैले भन्ने जवाफ यही हो। बिद्यालय र कलेजहरु बेरोजगार उत्पादन गर्ने कारखाना मात्र बनेका छन्। युबाहरु बिदेशीका गुलाम र दास बन्नु भन्दा केहि काम छैन। काम गरौ हातमा सीप र लगानी छैन। बिना धितो काम गर्न पाउने युवा स्वारोजगार कार्यक्रम त केही आआफ्ना नेताकार्यकर्ता पाल्नलाई ल्याएको रहेछ भन्ने कुरा जनताले भक्खर बुझ्न थालेका छन्। भुकम्प पिडितहरुलाई कम ब्याजदरमा दिने भनिएको रिण पनि पहुँच वालाले मात्र पाउने हो वास्तविक कमजोर, गरीवले पाउने चिजै होईन तर पनि गरीव किसान, मजदुर, श्रमिक, जाति, जनजातिहरु के कुरा बुज्दैन भने यो दलाल पुजिवादी राज्य ब्यवस्था हो । यसमा पावर, पहुच, भनसुन, नातावाद, कृपावाद, फरियावाद, पैसा, गुण्डागर्दी, चिनजान, आदेश सबै चल्ने हुन्छ। तपाईंहरुले यस संघीय लोकतान्त्रिक ब्यवस्थामा अनुभूति गरि सक्नु भयो होला भन्ने लाग्छ।
गाँउपालिका, नगरपालिका अनि वडा कार्यालयहरुले जनतालाई बाँडेका कृषि बीउ बिजन, कृषि औजार जस्तै खेतबारी जोत्ने ट्याक्टर, वाटर पम्प, धान झार्ने थ्रेसर, मकै छोडाउने मेशिन, प्लास्टिक टनेला, औषधी, मलखाद आदि कस्ले पाए बुझ्नु होला। थाहा पाउनु हुनेछ। अझ करको त कुरै नगरौ कुखुरा, बाख्रा, भेडा, च्याङगा, गाई, भैंसी, बच्चाको जन्म दर्ता, बिवाह दर्ता, मृत्यु दर्ता, सिफारिस, घर धुरी कर, नक्सा पास, जग्गा कर, जग्गा पास र नाम सारि त अब गर्नै नकक्ने भएको छ। ससाना व्यापार ब्यबसाय गर्नेहरुले पनि अनिवार्य दर्ता गरी कर तिर्नु पर्ने सामान ल्याउने ठाउमा कर, ल्याएर बेच्दा पनि कर कति ठाउँ र कति पल्ट कर तिर्ने केहि थाहा छैन। उद्योग, कलकारखानाले वस्तु उत्पादन गर्छ( उसले पनि कर तिर्नु पर्छ।
त्यहि वस्तु सामान डिलर होलसेलरमा आईपुग्छ उसले पनि कर । डिलर वा होलसेलरबाट खुद्रा ब्यवसायीले किनेर ल्याएर बिक्री गर्छ फेरि ती पनि कर। देश नै कर र बिदेश गएर पठाएको रेमिट्यान्सले चलेको छ। बाटो, पुल, सडक, बिजुली, खानेपानी, स्वास्थ्य चौकी, स्कुल, हस्पिटल सबै बिदेशीले बनाई दिनु पर्ने, अनि सरकारले चाहिँ के काम गर्ने हो। बिदेशीहरुसँग रिण अनुदान लिने, भ्रष्टाचार गर्ने, सरकारले लिएका रिणहरु नतिर्ने, सबै नेपालीको टाउकामा रिणको रास थुपार्दै जाने। आज बच्चा जन्मने बितिकै उसको टाउकामा राज्यको रिण भर, प्रत्येक नेपालीको टाउकोमा प्रति ब्यक्ति ३९,००० हजार रिण तँपाईहरु तिर्न तयार हुनुहुन्छ ? के प्रत्येक तीन करोड नेपाली जनताले बत्तीस हजार रिण लिएर नतिरेकै हुन् त ? धेरै तामाङ जनताको रिण तिर्न सक्ने हैसियत छैनन्।
तामाङ दाजुभाई दिदीबहिनीहरु,
हाम्रा पुर्खाहरुले जाहनियाँ राणा शासन फाल्न यसको बिरोधमा ठुलै योगदान गरे। राणा शासन फालेर प्रजातन्त्र ल्याए। यो पञ्चायती प्रजातन्त्रले पनि तामाङलाई शोसन नै गरे। पञ्चायत फाली बहुदल ल्याउन ठुलै संघर्ष गरे तर यो बहुदलिय ब्यवस्थाले पनि तामाङलाई कुल्ली, ज्यामी, रिक्सा, ट्याम्फु र ट्याक्सी ड्राइभर भन्दा केही बनाएनन। यो बहुदलीय छाडातन्त्रले पनि तामाङ समुदायको खासै सेवा गर्न सकेनन्। दमन थिचोमिचो, अन्याअत्याचार, शोसन गरि नै रहे । त्यसैका कारण देशमा शुरु भएको १० बर्से जनयुद्धमा तामाङ समुदायले आफ्नो मुक्तिका लागि संघर्षमा सहभागी बने। हजाररौ तामाङ सन्तानले जनयुद्धमा बलिदान गरे। कतिले छोराछोरी, भाइ, दाइ, काका काकि, दिदीबहिनी, बुबा आमा गुमाए । धेरै तामाङ परिवारहरु टुहुरा बने। कतिले आमा बुबा गुमाए छोराछोरी टुहुरा, अनाथ भए। पढ्न खान ल्याउन पाएनन् ।
अरुको घरमा भाडा माझ्ने, गोठाला बसी जिए। कति शोसक सामन्तीले उनीहरुको घरखेत वारि सबै आफ्नो हात पारे। सामन्त शोसकको घरमा बसेका ती कलिला नानीहरुको श्रम शोसन मात्र गरेनन यौन शोसन गर्नसम्म पछि परेनन्। जनयुद्धमा महिलाहरुको आफ्नै भन्ने प्रिय जीवन संगी जीबन साथी गुमाए, सुख दुःख बाँडी सँगै बाच्ने कसम खाएका, जीवन भरी साथ दिने मान्छे नहुदाँको पीडा आज कस्ले बुझ्न सक्छन्। आफ्ना श्रीमान गुमाउदाको पीडा, त्यस माथि घर, गाउँ समाजले बिधवालाई हेप्ने, पेल्ने, नराम्रा कुरा काट्ने, समाजले नगन्ने अनि संका आसंका र गिद्द नजरले हेर्ने। उनले राता चुरा, धागो, पोते, राता पहिरन लगाउन नहुने, सेतो पहिरन लगाउनु पर्ने, अलछ्छिनाले पोई खाई वचन सहनु पर्ने । छोराछोरी गुमाउने आमाबुबाको पीडा दुःख झन सुनी नसक्नुका छन्। आफ्ना दुःख पीडा सुनाउदा धुरुधुरु रुन्छन्। आमाहरु त झनै भक्कानो नै पर्छन् । कठोर ढुङ्गे मनमात्र नपक्लेला सायद जोकोहीको मन थाम्न सक्ने स्थिति हुदैन। जोकोही को पनि आँखाबाट आँशु झर्छन् नै। ती आमा बुबालाई के भनी सम्झाउने हो, के नैतिकतालाई सम्झेर सम्झाउने हो ।
बुढेस कालको टेक्ने लौरो भाँचिएका छन् । हात खुट्टा नचल्दा स्हारसुसार, पालन पोशन गर्नु पर्ने आफ्ना मुटुका टुक्रा दुशमनले टुडालेर लगेका क्षन र त्यछिका बलिन्द्र आँशु बगाउदै छोराछोरीको बियोग र सम्झनामा बाँच्नु पर्दाका दिन र समय, कस्ले बुज्दा हुन्। बुबा सहिद भएर टुहुरा बनेका नानी बाबुहरु अंकल हाम्रो बाबालाई किन पुलिस आर्मीले मारेका हुन। के उनीहरुलाई चाहिँ गणतन्त्र आएका छैन र। हाम्रा बाबाले चाहिँ ज्यान गुमाउनु पर्ने के कारण थियो। गणतन्त्र आखिर सबैलाई चाहेको रहेछ किन ती पुलिस आर्मीहरुलाई मान्छे मार्न लगाए। के ती मान्छे मार्न आदेश दिने र मान्छे मार्नेहरुरुलाई कारवाही हुदैनन। नानी बाबुहरु अलि ठुला र बुज्ने पनि भएका छन् । बुझाउदा उनीहरुको मन चित्त बुझ्ने स्थिति छैन। यहाका नेताहरुको जिवन शैली व्यवहार, राज्यसत्ता, सरकार, देशको शासन ब्यवस्था कानुन केहिले पनि चित्त बुझेका पाईन्न। अपाङ्ग घाईते जीवन बिताई रहेकाहरुको जीवन यापन, उनीहरुको पीडा, आकेश झनै सुनी सक्नुको छैन। आज म सपाङ्ग भै दिएको भए । चित्त बुझाउनु पो कसरी, आज यहाँ कसको चित्त बुझि राखेको स्थिति छ र। चित्त बुझाउने परिस्थिति, समय र ठाउँ नै छैन। देशमा लोकतान्त्रिक संघीय गणतन्त्र आयो भनिएको छ जनजिबीका, शिक्षा, स्वास्थ्य, रोजगारी, बजार भाउ, न्याय,प्रशासन सबै उस्तै त्यसरी नै चल्दै चलाउदै आएका छन्। खासै मान्छेको जीवन बदल्ने शासन ब्यवस्था छैन।
जताततै हत्याहिङ्सा, बलत्कार, गुण्डागर्दी, दलाल, काला बजारी, नातावाद, कृपावाद, फरियावाद, भनसुन, पवर, भष्टचार, कमिसन, घुस, काण्डैकाण्ड, देशको सिमा अतिक्रमण रोक्न सकिराखेको स्थिति छैन। सरकार दिन प्रतिदिन भ्रष्टाचारमा लिप्त छन्। भ्रष्टाचार नेपाली संस्कृति बनिसकेको छ। मानिसको आदत बानी बेहोरा सेच र चिन्तन बनी राखेको छ। सक्नेले प्रक्यिा र कागज मिलाउछन् टेबल मुनि र माथिबाटै काम सकाउछन्। प्रक्यिा र कागज मिलाउन नजान्नेहरु सिधा हातैमा थाप्छन् र फेला पर्छन् ।
मान्छेहरु एनि हाउ पैसा कमाउ अभियानमा लागेका छन्। पैसा बाहेक अरु केही होइन, पैसा नै सबथोक हो। पैसा छ सब थोक छ पैसा छैन केही छैन। प्राय सबै मान्छेहरुको चिन्तन यहि पाउछौं। यो चरम पुँजीवादी चिन्तन र पुजीवादी अराजकता हो। मान्छेहरूको यो सोच र चिन्तनले देश र समाज काँहा कता पुग्ने हो । समाज र देशको लागि सोच्ने हो भने भयंकर डर लाग्दो फिलिमी दृश्य हो भन्न सकिन्छ।
दस बर्षे जनयुद्धमा बाँचेकाहरु आज कोहि सत्ता र सरकारमा छन् त कोही हिजो जनतालाई बाँडेका सपना, आदर्श र जनताको समाजवादी ब्यबस्था ल्याउनका निमित निरन्तर कान्ति कै बाटोमा आगडी बढिरहेको पाउछौं। हिजोका लक्ष्य, आदर्श, सपाना र जनतालाई बाँडेको प्रतिबद्दताहरु बिर्सन पुगेका छन् । केही अवसरवादी चिन्तन बोकेका, अलिअलि पैसा कमाउन पाएका, साम्सद, मन्त्रि, प्रधान मन्त्री र स्वार्थका लागि नेताका पछाडी दौडनेहरुका लागि त भने जस्तो भएको छ। स्वर्ग नै आएको छ, त्यो त जनतालाई राम्रैसँग थाहा होला। बुर्जुवाहरु लोकतान्त्रिक संघीय गणतन्त्र नै अपरिवर्तित, अपरिवर्तनीय उत्कृष्ट ब्यवस्था हो । यहि ब्यबस्थाबाट समाजवाद आउदैनन्, हामी समाजवाद ल्याउन अगाडि बढिरहेका छौ ।
राज्यसत्ताले यस्तो चरम दमन गर्दा कहिल्यै पनि तामाङका पुर्खाहरुले राज्यसत्तासगँ सम्झौता गरेनन्। बरु उनीहरुले सेना भित्र सैनिक बिद्रोह गरे, राज्यसत्ताका कुनै पनि सेवा सुबिधा चाहेनन्। भारी बोकेर भए पनि स्वाबलम्बी भएर बाँचे। जीउनको लागि भिख मागेनन्, बरु गरीव दरिद्र भएर बाँचे। आफ्नो पाखुरा, श्रम र मिहिनेतमा बाँचे। राणाहरुले त मोज मस्ति र दास, भरिया बनाउनु बाहेक केही गरेनन्। १९१० मा बनेको मुलुकि ऐनले त तामाङलाई मतवली मासिने जातिमा राखे। देशमा राणाहरुको बिरुद्ध प्रजातन्त्र, पञ्चायती प्रजातन्त्रको बिरुद्ध बहुदल, बहुदलको बिरुद्दमा गणतन्त्र ल्याउन धेरै तामाङहरुले बलिदान गरेका छन्। अब फेरि एक पटक आम तामाङ समाजले बैज्ञानिक समाजवाद ल्याउन संघर्ष गर्नु पर्ने आवश्यकता देखिन्छ। तामाङहरुले ताम्सालीङ स्वयत प्रदेश स्थापना गरि ताम्सालीङबासीको न्याय सुशासन, सम्बृद्ीको नेतृत्व गर्नु पर्ने आजको ईतिहासको माग हो। नयाँ ईतिहास निर्माणको लागि अघि बढौ । भावि सन्ततीको उज्ज्वल भविश्यको ग्यारेण्टी गरौं। जय ताम्सालीङ स्वयत प्रदेश –जिन्लावाद। हाम्रा पुर्खाहरु अमर रहुन् ।
(लेखक नेकपा विप्लब समूह निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रिय संयोजक हुन् ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।