अशोक बुद्ध लामा
१ असार २०७७
धुलिखेल । काभ्रे जिल्लाको रोशी गाउँपालिकाका कोरोना संक्रमित पुरुषको परिवार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष डिबी लामाका अनुसार जिल्लाको धुलिखेल अस्पतालमा पीसीआर परिक्षण गर्दा गत जेठ २३ गते कोरोना सङक्रमण पुष्टि भएको रोशी गाउँपालिका वडा नम्बर १० का पुरुषको परिवारमा कोरोना संक्रमण नदेखिएको हो ।
रोशी–९, मंगलटारमा स्थापना गरिएको क्वारेन्टाईनमा रहेका पुरुषमा कोरोना पुष्टि भएपछि कन्ट्याक ट्रेसिङ गरिएको र ७ जना परिवारको स्वाव संकलन गरी धुलिखेल अस्पताल पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको अध्यक्ष लामाले जानकारी दिए ।
कोरोना पुष्टि भएका पुरुष भारतबाट आएर १४ दिन क्वारेन्टाईनमा बसेर घर फर्केका थिए । उनको आरडिटि परिक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठाईएको थियो । क्वारेन्टाईन बसेर घर गएका उनि महाभारत गाउँपालिकामा भारतबाट आएका साथीलाई मोटरसाईकलमा राखी पुर्याउन गएका थिए । यो जानकारी पाउना साथ उनलाई फेरी क्वारेन्टाईनमा ल्याएर राखिएको थियो । पछि पिसिआर परिक्षणमा उनमा कोरोना संक्रमण देखिएपछि उनको परिवारको स्वाव संकलन गरी पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा संयोजक गंगालाल श्रेष्ठले जानकारी दिए ।
मोटरसाईकलमा बसेर जाने महाभारतका नागरिकमा भने पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिए । संक्रमित वडा नम्बर १० का २ जना र वडा नम्बर ३ का १ जनाको भक्तपुरको दुवाकोट स्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ । उनिहरुको अवस्था सामान्य रहेकाले उनले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















