२ असार २०७७
धुलिखेल । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ मा रहेको मेथिनकोट अस्पतालाईलाई प्रदेश अस्पतालको रुपमा स्तरोन्ननति गर्ने भएको छ । सोमबार वागमती प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७।७८ को बजेट बक्तव्यमा जिल्ला अस्पतालको रुपमा रहेको मेथिनकोट अस्पताललाई प्रदेश स्तरमा स्तारोन्नति गर्ने जनाएको हो ।
अर्थमन्त्री कैलास प्रसाद ढुंगेलले प्रस्तुत गरेको बजेटमा नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच एवं सुनिश्चितताका लागि प्रदेश अस्पताल नभएका जिल्लाहरुमा रहेका जिल्ला अस्पतालहरुलाई स्तरोन्नति गर्ने जनाएको छ ।
सो अनुसार दोलखाको चरिकोट, काभ्रेपलाञ्चोकको मेथिनकोट, ललितपुरको बज्रबाराहीमा रहेको पाटन जिल्ला अस्पताल र चितवको बकुलर रत्ननगर अस्पताललाई प्रदेश अस्पतालको रुपमा स्तरोन्नति हुने भएको छ ।
त्यसैगरि अस्पतालको सेवाभन्दा बाहिर रहेका २१ प्रादेशिक निर्वाचन क्षेत्र समेटिने गरी थप १७ वटा स्वास्थ्य संस्थालाई चिकित्सकीय सेवा सहितको अस्पताल सञ्चालन सहयोगको लागि १२ करोड ८० लाख बजेट विनियोजन गरेको छ । यसबाट प्रदेशका ६६ वटै निर्वाचन क्षेत्रमा चिकित्सकीय सेवाको पहँुच विस्तार हुनेछ ।
एक स्थानीय तहमा २ जना नर्सको व्यवस्था
सामुदायकि विद्यालयहरुमा विद्यार्थीहरुको समग्र स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको एक विद्यालय एक नर्स कार्यक्रमलाई सबै स्थानीय तहका थप दुई विद्यालयमा विस्तार गर्ने बजेटमा उल्लेख गरेको छ । सोको लागि अर्थमन्त्री ढुंगेलले रु. १९ करोड ८० लाख बिनियोजन गरेको छ ।
साथै विद्यालयमा आधारित सुरक्षित र स्वस्थ भविष्य किशोर किशोरीको लक्ष्य विशेष कार्यक्रम कार्यन्वयन गर्न रु. ६ करोड बजेट बिनियोजन गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















