३ असार २०७७
धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले आफ्नो नगरपालिका भित्र लकडाउन अवधिको व्यवसाय कर नलिने निर्णय गरेको छ । मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले सबै पर्यटन उद्योग, व्यापार, व्यवसायीहरुलाई लकडाउन अवधिको व्यवसाय कर नलिने निर्णय गरेको नगरप्रमुख अशोक व्याञ्जुले जानकारी दिए ।
धुलिखेल नगरपालिकाको उक्त निर्णयले त्यस नगरपालिकामा व्यवसाय गर्नेहरुलाई राहत मिलेको छ । उक्त बैठकले व्यवसायहरूले लकडाउ भन्दा अगाडिको कर असार मसान्तसम्म तिरेमा उक्त समयमा लाग्ने जरिवाना समेत मिनाहा गर्ने निर्णय गरेको छ ।
बैठकले नगरपालिकामा बसोबास गर्ने ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरु र ६० वर्ष माथिका सबै दलित परिवारको पचास हजारसम्म कोरोना विमा गर्ने निर्णय गरेको नगर प्रमुख ब्याञ्जुले बताए ।
यसरी कर छूट र कोरोना बीमा गर्ने स्थानीय तहमा धुलिखेल नगरपालिका पहिलो स्थानीय तह भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।