४ असार २०७७
बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिकामा रहेको तेण्डल हार्डवेयरबाट लाखौं चोरी गर्ने पक्राउ गरी सार्वजनिक गरेको छ । चोरी गरेको आरोपमा चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं. १ का २७ बर्षीय प्रकाश जंग कुँवरलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए अनुसार काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ धनेश्वर स्थित सुरेश तामाङले सञ्चालन गरेको तेन्डेल हार्डवयर प्रा.लि फोडी रकम चोरी भएको भन्ने उजुरी इलाका प्रहरी कार्यालय काभ्रेमा परेपछि अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा चोरी गरी नवलपरासी जिल्ला नवल नगरपालिका वडा नं. १ डाँडाटोल स्थित साढुदाईको घरमा लुकीछिपी बसीरहेको अवस्थामा कँुवरलाई प्रहरीले पक्राउ गरेको तिमल्सिनाले जानकारी दिएको छ । प्रहरी निरिक्षक तिमल्सिनाको कमाण्डमा प्रहरी गई नवलबाट पक्राउ गरी ल्याएको थियो ।
गत जेठ २८ गते बेलुका १० बजेतिर हार्डवयर फोडी रकम चोर्ने कुवँरलाई असार ३ गते पक्राउ गरेको तिमल्सिनाले जानकारी दिए । हार्डवयर सञ्चालकले दिएको निवेदन अनुसार हार्डवयरबाट नौँ लाख चार हजार दुई सय पचहत्तर रुपैयाँ चोरी गरेको प्रहरीले जानकारी दिएको छ । चोरी आरोपीको साथबाट एक लाख पचास हजार नगद सहित पक्राउ गरेको प्रहरीले बताएको छ । अहिलेसम्म ७ लाख चोरी गरेको स्वीकारेको तिमल्सिनाले जानकारी दिएका छन् ।
जिल्ला अदालत धुलिखेल काभ्रेबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ