४ जेष्ठ २०७७
धुलिखेल । काभ्रे जिल्लामा रहेको सबै क्वारेन्टाइनलाई थप ब्यवस्थित गरिने भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रले जिल्लाका क्वारेन्टाइनहरुलाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार महिला, गर्भवती र सुत्केरी महिलाहरु माथि लैङ्गिक तथा घरेलु हिंसा हुन नदिने आवश्यक प्रबन्ध मिलाउने निर्णय भएको छ ।
‘स्वास्थ्य सामग्रीको समेत प्राथमिकका साथ उपलब्धता गराउन स्थानीय पालिकाहरुलाई अनुरोध गर्ने निर्णय भएका छ ।’ डा झाले भने, ‘विभिन्न स्थानमा सुरक्षाकर्मीहरु माथि आक्रमण भएकोमा काभ्रेमा त्यस्तो नहोस भन्नका लागि सुरक्षा निकायले सरक्षाकर्मीको उच्च मनोबल बनाएर खटाउने भएको छ ।’
जिल्लाको विभिन्न क्वारेन्टाइनमा ५७ जना पुरुष र २९ जना महिला गरि ८६ जना रहेका छन् ।
जिल्लामा हालसम्म २२ सय १८ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । त्यस्तै ११ सय १२ जनाको स्वाब संकलन गरी पीसीआर विधि मार्फत कोरोना परीक्षण गरिएको छ ।
जिल्लामा क्वारेन्टाइन बेडको संख्या ८ सय ३ पुगेको छ । रोशी गाउँपालिकाले १ सय १० बेड पुर्याएको छ । त्यस्तै २५ वेड रहेको मण्डनदेउपुरमा १ सय बेड पुगेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । आइसोलेसन बेड भने १३ वटा मात्रै रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।