५ असार,२०७७ काठमाडौं । वैज्ञानिक वनका नाममा अनियन्त्रीत रुपमा वन फडानी भइरहेको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।

सार्वजनिक लेखा समितिमा भएको छलफलमा सांसदहरुले वैज्ञानिक वन व्यवस्थापनका नाममा अनियन्त्रित तरिकाले फडानी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

सांसद प्रेम आलेले वैज्ञानिक वनका नाममा अनियन्त्रित फडानी र ठूलो घोटाला भएको बताए । स्थानीयसँगको सहकार्य बिना नै सामुदायिक वनका अध्यक्ष र वनका कर्मचारीहरुले वैज्ञानिक वनको नाममा अनियन्त्रित रुपमा फडानी गरिरहेको उ भनाई छ ।

सांसद प्रदीप यादवले राज्य, नेता र वनका कर्मचारीहरुको मिलेमतोमा वैज्ञानिक वनको नाममा धमाधम काँचा काठहरु कटान भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

अर्का सांसद मोहम्मद इस्तियाक राईले बाँकेमा ६५ हजार क्यूफिट काठ काट्ने भनिएपनि १ लाख ५० हजार क्यूफिट बढी रुखहरु कटान गर्ने अनुमति किन दिइयो भन्दै प्रश्न गरे ।

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले देशभरी रहेको कुल २२ लाख, ७२ हजार हेक्टर वन मध्ये १ लाख ७५ हजार ३ सय २१ हेक्टर वन क्षेत्र मात्रै वैज्ञानिक वन व्यवस्थापनका रुपमा रहेको बताए ।

समितिले लकडाउनको मौका छोपी वैज्ञानिक वन व्यवस्थापनका नाममा फडानीका घटना बढिरहेको भन्दै छानबिन समिति गठन गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।