६ असार २०७७
धुलिखेल । काभ्रेका चौंरीदेउराली गाउँपालिकामा रहेको एक मात्र एम्बुलेन्स रेडक्रस सोसाईटी काभ्रेले नियन्त्रणमा लिई राख्दा जनताले सस्ती व्यहोर्नुपर्ने बाध्यता भएको छ । रक्सी बोकेको आरोपमा एम्बुलेन्स रेडक्रसले ‘नियन्त्रण’मा लिएपछि महामारीको बेला जनताले सस्ती बोक्न बाध्य भएका हुन् ।
काँग्रेस कार्यकर्ता तथा स्थानीय निर्वाचनमा वडा नं. ५ बाट पराजित रविन गौतम एम्बुलेन्स चालक आफ्नो कार्यकर्ता राख्न नपाएको भन्दै लागेको करिब १ वर्ष भन्दा बढी भइसकेको थियो । गौतम चौंरीदेउराली रेडक्रसको पनि सभापति हुन् ।
एम्बुलेन्स जस्तो संवेदनशील सवारी साधनमाथि नै यसरी राजनीतिक स्वार्थ पूरा गर्न लागेका उनले यसपटक निकृष्ट चाल चालेको स्थानीयको आरोप छ । ‘हुँदै नभएको कुरा जिल्ला रेडक्रसमा लगाएर एम्बुलेन्स नियन्त्रणमा लिन लगायो ।’ एक स्थानीयले भने, ‘हाम्रो गाउँमा विरामी हुँदा अस्पतालसम्म लाने सवारी साधन छैन । यो सब रविन गौतमको चाल हो ।’
चौंरीदेउराली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको १ वर्ष पूरा हुँदै छ । शुरुमा काँग्रेस कार्यकर्ता गौतमको पहलमा विना सूचना आफ्नै कार्यकर्तालाई एम्बुलेन्स चालक बनाएर ल्याएका थिए । गाउँपालिकाले त्यसलाई मान्यता नदिएपछि रेडक्रसले नै पछि खुल्ला प्रतिस्पर्धाबाट चालक भर्ति गरेको थियो । गौतमले चाहेको मान्छे चालक नभएपछि उनले शुरु देखिनै षड्यन्त्र गर्न शुरु गरेका थिए ।
खुल्ला प्रतिस्पर्धाबाट आएका चालकलाई हटाएर आफ्नो कार्यकर्तालाई भर्ति गर्ने प्रयत्न असफल भएपछि उनले एम्बुलेन्स नै हटाउने प्रयत्नमा लागेको स्थानीयको आरोप छ ।
उनको मान्छे राख्न नपाएकोले जसरी पनि चालक हटाउनुपर्नेमा लागेका थिए गौतम । ‘अनि भ्रामक कुराहरु पहिलेदेखि गरिरहेको हो । अहिले निक्कै ठूलो अपराध गरे उनले ।’ स्थानीय आक्रोस हुँदै भन्छन् ।
एम्बुलेन्स यसरी नियन्त्रणमा लिएका रहेछ
गाउँपालिकाको एम्बुलेन्सको ब्रेकफेल भएको थियो । मर्मतको लागि बनेपाबाट मिस्त्री ल्याई मर्मत गर्न खोज्दा मिस्त्रीले नसक्ने अवस्था भएको थियो । त्यसपछि एकजना मान्छे ओत हाल्ने र चालकले विस्तारै चलाएर वर्कशपसम्म लगेको थियो ।
अनि रविन गौतमले एम्बुलेन्समा दुईजना गैर विरामी लिएर बनेपा आयो भनेर रेडक्रसमा रिपोर्ट गरेका थिए । रेडक्रस काभ्रेमा अहिले काँग्रेसको बर्चस्व रहेको छ । त्यसैले रविनको लगत रिपोर्टलाई जिल्ला रेडक्रसले विश्वास गरियो ।
मर्मत पछि गाउँपालिकामा जिल्ला स्वास्थ्य कार्यालयबाट लानुपर्ने औषधि र स्वास्थ्य सामाग्रीहरु बोकेर एम्बुलेन्स गाउँपालिका फर्केको थियो । अनि काँग्रेस कार्यकर्ता गौतमले एम्बुलेन्सलाई सामान बोेक्ने ट्रक पनि बनायो भनि भ्रम फैलाएका थिए ।
कुराको पछि जिल्ला रेडक्रस लागेर एम्बुलेन्स नियन्त्रणमा लिएका थिए ।
सरकार भन्दा माथि रेडक्रस ?
अब चौंरीदेउराली गाउँपालिकाका जनताले प्रश्न उठाउन थालेका छन् कि रेडक्रस ठूलो कि सरकार ? ‘सरकारको कुरा रेडक्रसले पालना गर्नुपर्छ कि रेडक्रसको कुरा सरकारले पालना गर्नुपर्छ ।’ स्थानीय जनताले प्रश्न गर्न थालेका छन् ।
एक वर्ष मर्मत, एक वर्ष चालकको तलब समेत दिनेगरि गत साल उक्त एम्बुलेन्स गाउँपालिकालाई जिम्मा दिएकोमा रेडक्रसले नियन्त्रणमा लिनु अस्वभाविक विषय बनेको छ । ‘रेडक्रस सरकार हो र ? एम्बुलेन्सको गलत प्रयोग भएको छ भने सरकारले कार्वाही गर्छ कि रेडक्रसले ?’ स्थानीय भन्छन्, ‘रेडक्रसको नाममा काँग्रेसले राजनीति गरियो ।’
म्याद सकिएको सभापतिको हैकम ?
रविन नेतृत्वको रेडक्रसको समय अबधि सकिएको धेरै बर्ष भइसक्यो । उनी नेतृत्वको समिति अवैध नै हो । रेडक्रसको विधान अनुसार आफै अवैध भएपनि काँग्रेस कार्यकर्ता रविन असामाजिक कार्यमा लागेको देखिन्छ । गठन भएर धेरै वर्ष भएपनि नयाँ कार्य समिति बनाउन सकेको छैन ।
रक्सी भेटायो भन्नु झुट –अध्यक्ष गौतम
चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले एम्बुलेन्स भित्र कुनै पनि प्रकारको रक्सी नभेटाएको बताएका छन् । त्यस्तो अनुचित कार्य एम्बुलेन्सले गरे गाउँपालिकाले कार्वाही गर्ने अध्यक्ष गौतमले बताए । ‘एम्बुलेन्समा रक्सी भेटाएको भए त हामी कार्वाही गर्छौं नि । कार्वाह ीगर्ने निकय त गाउँपालिका हो नि । रेडक्रस हो र ?’ गौतमले भने, ‘रक्सी भेटाएकै छैन । राजनीतिक आग्रह र पूर्वाग्रहीले यो हल्ला गरेको मात्र हो ।’
भ्रम फैलाएको प्रति गाउँपालिकाको आपत्ति
यसैबीच चौंरीदेउराली गाउँपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘विरामी बोक्ने एम्बुलेन्समा रक्सी’ शिर्षकको समाचारको खण्डन गरेको छ । अध्यक्ष गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा सञ्चार माध्यमा प्रकाशित समाचार पूर्वाग्रही, भ्रमपूर्ण र झुट रहेको बताएको छ ।
‘गाउँपालिकासँग सम्बन्धित एम्बुलेन्सको बारेमा विरामी बोक्ने एम्बुलेन्समा रक्सी भन्ने शिर्षकमा प्रकाशित समाचार प्रति यस गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको यस विषम परिस्थितिमा एम्बुलेन्स जस्तो संवेदनशील विषयमा आम जनमानसमा निरन्तर सेवामा समर्पित एम्बुलेन्स र गाउँपालिका विरुद्ध भ्रम सिर्जना हुने गरी प्रकाशन र प्रसारण भएको सो समाचार पूर्णतः पूर्वाग्रही, भ्रमपूर्ण र झुट रहेको हुँदा सो समाचार प्रति चौंरीदेउराली गाउँपालिका घोर आपत्ति र भत्र्सना व्यक्त गर्दछ । साथै सो समाचार तयार गर्ने र दुरासयले प्रचार प्रसार गरी जनमानसमा भ्रम पैदा गर्ने सम्बन्धित संस्था र अराजक व्यक्तिहरुलाई आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाइने व्यहोरा जानकारी गराउँदाछु ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।