६ असार २०७७
रोशी । कोरोना महामारी बढे सँगै शहरदेखि गाउँसम्म यसको असर प्रत्यक्ष रुपमा परिरहेको छ । महामारी बाट नागरिकहरुलाई के कस्ता समस्या परिरहेको छ, उनीहरुको समस्या बुझ्नका लागि नेपाली काँग्रेसका नेताहरु गाउँ गाउँ पुगेका छन् ।
नागरिकका समस्या र समाधान गर्न सकिने बिकल्प सहित काँग्रेसका नेताहरु गाउँगाउँमा नागरिकहरुसँग भेटघाटको कार्यक्रम अन्तर्गत रोशी गाउँपालिका स्थित वडा नम्बर १० वाल्टिङ, वडा नम्बर ११ र १२ अन्र्तगत भिमखोरी पुगेका हुन् ।

उनिहरुले गाउँगाउँमै पुगी नागरिकका समस्यासँग प्रत्यक्ष रुपमा बुझेका छन् । शुक्रबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य शिबप्रसाद हुमागाईको नेतृत्वमा काँग्रेसका नेताहरु गाउँगाउँमा पुगेका थिए । त्यहाँ पुगेर नागरिकहरुसँग नागरिकका स्वास्थ्यको अबस्था, शिक्षाको अवस्था, कृषि मलखाद, बिकास निर्माणका अबस्थाका विषयमा छलफल गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय ट्रेड युनियन विभाग प्रमुख समेत रहेका हुमागाईं, जिल्ला सचिब दिनेश लामा, नेपाली काँग्रेसका प्रतिनिधीसभा क्षेत्रीय सभापति तिर्थ लामा, क्षेत्रीय सचिब गुणराज मोक्तान, प्रदेश क्षेत्रीय सभापति राम लामा, क्षेत्रीय सदस्य नवराज लामा, रोशी सभापति लालकुमार पाख्रिन, विदुर बर्तौला, वडा अध्यक्ष दुधराज तामाङ, शिक्षक एंव पत्रकार सरोज सापकोटा लगायतको सहभागिता रहेको थियो ।
छलफल कार्यक्रममा स्थानिय नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । उपस्वास्थ्य चौकी डाँडाखर्क, वाल्टिङ कुण्डचौर, चारपाटेपोखरी, मिन्दुपा, छहरे र शिखरपुरका गाउँगाउँमा पुगी भेटघाट तथा छलफल गरेका थिए ।

नागरिकहरुले स्वास्थ्यको समस्याका साथै खेतबारीमा मल हाल्न बितेकाले मल आपुर्ती सहज बनाइदिन नेताहरुलाई आग्रह गरेका थिए । त्यसै क्रममा काँग्रेस नेताहरुले आफुहरुले सकेसम्म सहयोग गरिदिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
छलफल कार्यक्रममा बोल्दै नेपाली काँग्रेस नेता हुमागाईले नेकपाको नेतृत्वले हरीयो घाँस देखाएर जनतालाई लोभ्याएको र अहिले जनताको हितमा केही पनि काम नगरेको प्रति चिन्ता लागेको बताएका थिए । ‘जनताको पार्टी भनेको काँग्रेस नै हो । माओवादी एमालेमा बिलिन भयो । एमाले माओवादीमा ।’ हुमागाईंले भने, ‘अबको नेतृत्व काँग्रेसले गर्ने हो, तपाईंहरु धैर्य भएर बस्नहोस् ।’
यसैक्रममा नेता तिर्थ लामाले नागरिकहरुलाई मलको अभाब हुन नदिन आफुले सहयोग गरिदिने बताएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।