६ असार २०७७
धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्बर १०, फस्कोटको पिङ डाँडामा बुद्ध शान्ति पार्कको शिलान्यास भएको छ । आज (शनिबार) एक कार्यक्रमका बीच नगरप्रमुख अशोक ब्याञ्जुले पार्कको शिलान्यास गरेका हुन् ।
बुद्ध पार्कको शिलान्यास गर्दै नगरप्रमुख ब्याञ्जुले नगरपालिकाले विभिन्न जाति, धर्म, भाषा, सस्कृतिलाई विशेष महत्व दिएर काम गरिरहेको बताए ।
‘नगरपालिकाले जनजाति परिषद् नै गठन गरेर जनजाति समुदायको विकास, उत्थान र उनीहरुको बसोबास रहेको ठाउँमा आवश्यक योजना निर्माण गर्ने र बजेट विनियोजन गर्ने काम भइरहेको छ ।’ ब्याञ्जुले भने, ‘धुलिखेल नगरपालिका विकास निर्माण र जनअपेक्षा भन्दा बाहिर नरहेको र सबैको साथ र सहयोगले मात्रै नगरपालिकालाई अब्बल बनाउन सकिन्छ ।’
सबै वडामा सम्मान जनक ढंगले विकास निर्माणको काम अघि बढिरहेको बताउँदै उनले सबैको हातमालोले मात्रै समृद्धि र दीर्घकालिन विकास हुने बताए ।
बुद्धको मूर्ति सहितको बन्न लागेको उक्त पार्कको लागि डिभिजन वन कार्यालय धुलिखेलको १० लाख, धुलिखेल नगरपालिकाको ६ लाख र उपभोक्ताको २ लाख ४० हजार गरी जम्मा १८ लाख ४० हजार बजेट रहेको छ ।
उक्त योजना चालु आर्थिक वर्षभित्र निर्माण पुरा भइसक्ने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।