१० असार २०७७
धुलिखेल । काभ्रे जिल्लाका अधिकांश पालिकाहरुले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेका छन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनै पर्ने बाध्यकारी प्रावधान रहेता पनि केही स्थानीय तहहरुले भने आज सार्वजनिक गर्न सकेनन् ।
१३ वटा स्थानीय तह रहेको काभ्रे जिल्लाको ८ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ भने ३ स्थानीय तहले भने नीति तथा कार्यक्रममात्रै ल्याएको छन् । त्यसैगरि दुई वटा स्थानीय तहले भने नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेनन् ।
यस्तो छ बनेपाको बजेट
बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को बजेट १ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको छ । उपप्रमुख रेखा दाहाल सापकोटाले १ अर्ब, १५ करोड, ७१ हजारको बजेट नगरसभामा प्रस्तुत गरेकी थिइन् ।
पूजीगत तर्फ ६० करोड ७२ लाख ३१ हजार रुपैयाँ विनियोजन गरिएको छ भने संघीयको सरकारको ससर्त अनुदान तर्फ २९ करोड २८ लाख, प्रदेश सरकारकाको ससर्त अनुदान १ करोड ८२ लाख ४ हजारको बजेट प्रस्तुत गरिएको छ । त्यस्तै नगरपालिका तर्फ २३ करोड ८१ लख २६ हजार रुपैयाँ आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको छ ।
यस्तो छ धुलिखेल नगरपालिकाको बजेट
धुलिखेल नगरपालिकाको आज बसेको ७ औँ नगरसभामा नगरप्रमुख अशोक ब्याञ्जुले चालू खर्च तर्फ ५१ करोड ४ लाख ४० हजार र पूजीगत तर्फ ६० करोड ६ लाख ७१ हजार रुपैयाँ बिनियोजन गरेको जानकारी दिए । नगरसभामा नगर उपप्रमुख बिमला शर्माले नगरपालिकाको प्रगति, आगामी कार्यक्रम र नीति प्रस्तुत गरेकी थिइन् ।
यस्तो छ पनौतीको बजेट
पनौती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३२ करोड रुपैयाँको बजेट प्रस्ताव गरेको छ । आज बसेको ७ औँ नगरसभामा उपप्रमुख गिता बञ्जाराले बजेटको प्रस्ताव गरेकी थिइन् ।  नगरसभामा प्रमुख भिमप्रसाद न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
मण्डनदेउपुरमा ९९ करोड
मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । उपप्रमुख निर्मला शाहिले ७ औँ नगरसभामा ९९ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका प्रमुख टोक बहादुर वाइबाले कोरोना नियन्त्रण अन्तर्गत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएका छन् ।
यस्तो छ रोशीको बजेट
काभ्रेको रोशी गाउँपालिकाको ७ औँ गाउँसभामा उपाध्यक्ष लक्ष्मी बर्तौलाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ९९ लाख ५६ हजार बजेट प्रस्तुत गरेकी छिन् । सभामा पालिका अध्यक्ष डिबी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ भन्ने मूल नाराका साथ रोशी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको छ ।
यस्तो छ खानीखोलाको बजेट
खानीखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७÷७८ का लागि ४२ करोड ९५ लाख ३५ हजार १ सय ७० रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आज सम्पन्न भएको ७ सातौ गाउँसभामा पालिका उपाध्यक्ष रुक्मणी गुरुङले बजेट प्रस्तुत गरेकी थिइन् । यही बजेट अन्र्तगत आगामी आर्थिक बर्षमा कृषि, शिक्षा, स्वास्थ्य र स्वरोजगार कार्यक्रमहरु गरिने अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिए ।
यस्तो छ चौंरीदेउरालीको बजेट
चौरीदेउराली गाउँपालिकाले पनि आफ्नो नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । पालिकाका उपाध्यक्ष तारा कुमारी चौलागाईले आज ७ औँ नगरसभामा ४७ करोडको बजेट प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक बर्ष २०७७÷७८ मा स्वास्थ्य, कृषि र पुराना योजनाहरुलाई निरन्तरता दिइने उपाध्यक्ष चौलागाईले बताइन् ।
यस्तो छ भुम्लुको बजेट
भुम्लु गाउँपालिकामा ४५ करोड, ७५ लाख ८ हजार बजेट प्रस्तुत गरेको छ । आज भएको ७ साताँै गाउँ सभामा पालिका प्रमुख गुमानध्वज कुँवरले नीति, कार्यक्रम तथा बजेट पेश गरेका थिए ।
तीन पालिकामा नीति तथा कार्यक्रम मात्र पेश
काभ्रेको ३ स्थानीय तहमा नीति तथा कार्यक्रम मात्र पेश भएको छ । यसैक्रममा पाँचखाल नगरपालिकाले नीति तथा कार्यक्रम मात्रै पेश गरेको छ । यसअघिका बर्षहरुमा नीति, कार्यक्रम र बजेट एकै पटक ल्याउने गरेको नगरपालिकाले यसपटक भने बजेट केहि दिन पछि मात्रै ल्याउने प्रवक्ता सञ्जय तामाङले बताए ।
त्यस्तै नमोबुद्ध नगरपालिकाले पनि नीति तथा कार्यक्रम मात्रै आज नगरसभामा पेश गरेको छ । नीति तथा कार्यक्रममा वृहत छलफल पछि मात्रै बजेट ल्याइने प्रवक्ता सञ्जिव ढकालले जानकारी दिए ।
बेथानचोक गाउँपालिकाले पनि नीति तथा कार्यक्रम मात्रै ल्याएको छ । नीति तथा कार्यक्रमको छलफल सकिएपछि मात्रै बजेट ल्याउने पालिकाले जनाएको छ ।
यसैबीच महाभारत गाउँपालिका र तेमाल गाउँपालिकाले भने आज सार्वजनिक गरेनन् ।

Comments

comments