११ असार, २०७७ काभ्रे । जिल्लाको मण्डनदेउपुर नरपालिकाले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट हिजो (बुधबार) सार्वजनिक गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागि ९९ करोड बजेट विनियोजन गरेको हो । काभ्रेको अधिकांश पालिकाहरुले आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम र बजेट हिजो विनियोजन गरेका हुन् ।
असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउनु पर्ने प्रावधान रहेता पनि केही स्थानीय तहहरुले भने नीति तथा कार्यक्रम मात्रै ल्याएका छन् ।
१३ वटा स्थानीय तह रहेको काभ्रे जिल्लाको ८ स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ भने ३ स्थानीय तहले भने नीति तथा कार्यक्रम मात्रै ल्याएका छन् ।
नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिका प्रमुख टोक बहादुर वाइवाले कोरोना नियन्त्रण अन्तर्गत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएका छन् । वाइवाले अहिलेको वर्तमान परिस्थितीमा कोरोना रोकथाम र नियन्त्रणमा प्रमुख विषय रहेको बताए ।
विगतका वर्ष देखि नै शिक्षा उच्च प्राथमिकतामा राखेको नगरपालिकाले यो वर्ष पनि शिक्षालाई उतिकै प्राथमिकता दिएको छ । त्यस्तै कृषि, पशु र पर्यटनको क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















