१७ असार २०७७
म बाँचुन्जेल चुनाव लड्छु– ओली
तपाईं बडो त्यागको कुरा गर्नुहुन्छ, तर के त्याग खोज्नुभएको हो ? म अर्को पटक प्रतिस्पर्धामा आएर चुनाव लड्दिनँ, महाधिवेशनबाट अध्यक्ष हुन्न भनेकै छु । प्रचण्डजी तपाईं त ३२ वर्षदेखि आफू निरन्तर अध्यक्ष हुनुहुन्छ, तपाईंलाई अरू के त्याग चाहिएको हो ? आफूले पहिले गरेर देखाउनुस्, त्याग कस्तो हुन्छ ? माधवजी १६ वर्ष महासचिव हुनुभएकै हो, एकपटक त्याग गरेर देखाउनुस्, झलनाथजी १३ वर्षसम्म महासचिव र अध्यक्ष हुनुभएको हो, पार्टी कहाँ पुगेको थियो आफैँ समीक्षा गर्नुस् ।
जनताले पक्कै रेकर्ड राखेका छन् । मैले प्रस्ट पारेका कुराहरूमा भारतको भूमिकाबारे मैले प्रश्न गर्दा तपाईंहरूले खुट्टा उचाल्नुपर्ने कारण के हो ? तपाईंहरूको संलग्नता के हो ? यस्ता कुरामा प्रस्ट कुरा राख्नुस् ।
सरकारले राम्रो काम गरेको छ, तर राम्रो गरेन भनेर कुण्ठा नपोख्नुस् । तपाईंहरू यसैगरी किचकिच गरिराख्नुभो भने, ख्याल गर्नुस्, म बाँचुन्जेल चुनाव लड्छु । मैले नेतृत्वमा नयाँ पिँढी आउनुपर्छ भन्दै आएको छु, तपाईंहरूलाई दिनका लागि छोड्छु भनेको छैन ।
अपिल गर्दै पार्टी एकता जोगाउनुपर्छ, सबैले गम्भीरतापूर्वक कुरा राखौँ, भारतसँगको वार्ता पनि टुंगो लगाउनुपर्नेछ, परिपक्व भएर जानुपर्ने स्थिति छ, एउटा निष्कर्षमा पुग्नुपर्नेछ, प्रधानमन्त्रीले पनि राख्नुहोला, प्रधानमन्त्रीका नजिकका साथीहरू पनि हुनुहुन्छ, तपाईंहरूप्रति कसैको केही गुनासो होइन, पार्टीलाई पद्धतिसंगत ढंगले चलाउने कुरा उठाइएको हो ।
दिल्लीले होइन, मैले मागेको हो राजीनामाः पुष्पकमल दाहाल ‘प्रचण्ड’
मंसिर पहिलो साता जिम्मेवारी बाँडफाँडपछि केन्द्रीय कमिटी बैठकसम्म सहमतिबाटै पार्टी चल्यो । त्यसपछि त उहाँले नियमित बैठक बस्न पनि ?चाउनुभएन । सबै रोकेर राख्नुभो । पार्टी र सरकार सञ्चालनबारे परामर्श गर्न पनि छाड्नुभो, एकलौटी गर्न थाल्नुभो । अध्यादेश ल्याएर पार्टी फुटाउन खोज्ने स्वेच्छाचारिता देखाउनुभो । मलाई भूमिकाविहीन नै बनाउन खोजियो ।
अहिले बैठकमा सीमा समस्याका बारेमा छलफल हुँदैथ्यो । पार्टी र सरकारको कामको समीक्षा पनि हुन्थ्यो । तर, प्रधानमन्त्रीजी बैठकमा आउँदै नआउने । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा यही हलमा कार्यक्रम हुन्छ भनेपछि सल्लाहमै हामीले बैठक स्थगित र्गयौँ । तर, यही हलबाट उहाँले भारतले हटाउन खोजेको, नेताहरू लागेको भन्दै झुटा प्रचार गर्नुभो । हटाउने खेल भएको हो भने को–को लागेका छन् ? यदि हो भने पार्टी एकढिक्का भएर लड्न जान सक्छ । प्रधानमन्त्रीले बैठकलाई प्रस्ट्याउनुपर्छ ।
विगतमा भारतले हटाएको भन्ने पनि झुटो हो । त्यतिवेला भएको सहमति कसरी तोडियो ? अनि कसरी हट्नुपर्‍यो भन्ने स्मरण गर्नुस् । सार्वभौम नेपाली जनताले चुनेर पठाउने अनि भारतले हटायो भन्ने ? सरकार बनाउने र भत्काउनेमा जहिल्यै भारतलाई ल्याएर जोड्ने ? तपाईंको यो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हो ।
सरकार सञ्चालन र पार्टी सञ्चालन गर्ने तरिकामा उहाँ असफल हुनुभो । अब तपाईंले पार्टी र सरकारको नेतृत्व गर्न कसरी मिल्छ ? त्यसकारण विकल्पका लागि त्याग गर्नुस् । मैले त सचिवालयमा १७ वैशाखमै त्याग गर्नुस भनेको हुँ, त्यतिवेला नक्साको प्रसंगै आएको थिएन, तर तपाईंले त्याग देखाउनुभएन । तर, अहिले यस्तो कुरा गर्ने ? दिल्लीले होइन, त्याग गर्नुस् भनेर मैले मागेको हो राजीनामा । धेरै रहनुपर्दैन, नक्सा कसरी सार्वजनिक भयो भन्ने कुरामा पनि सबै साथीहरू जानकार हुनुहुन्छ । –नयाँपत्रिकबाट
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।