१८ असार २०७७
धुलिखेल । काभ्रेको पाँचखाल नगरपालिकामा भेटिएका दुईजना कोरोना संक्रमितलाई नगरपालिकाकै आइसोलेशनमा राखिएको छ । दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नगरपालिकाकै आइसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले जानकारी दिएका छन् ।
संक्रमित २ जना दिल्लीबाट असार २ गते पाँचखाल क्वारेन्टाइनमा आइपुगेका थिए । संक्रमितहरु पाँचखाल नगरपालिका वडा नम्बर ९ का ३७ बर्षिय पुरुष र साउदीबाट असार ७ गते पाँचखाल क्वारेन्टाइनमा आइपुगेका वडा नम्बर ६ का ३३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो ।
नगरको क्वारेन्टाइनमा रहेका २४ जनाको पिसिआर चेक गरिएको थियो । त्यसमध्ये २ जनामा कोरोना संक्रमण देखिएको थियो । पिसिआर चेकको लागि नगरबाट पठाइएको मध्ये अझै ४ जनाको रिपोर्ट आउन बाँकी छ ।
पाँचखालमा यसअघि पनि भारतबाट आएका एक जना पुरुष संक्रमित भएका थिए । योसँगै जिल्लामा संक्रमणको संख्या ९ पुगेको छ । त्यस मध्ये ६ जना उपचार पछि घर फर्किएका छन् । पाँचखालका पहिलो पटक संक्रमित भएका व्यक्ति पनि निको भइ डिस्चार्ज भएको छन् ।
यससँगै पाँचखाल नगरपालिकामा कोरोना संक्रमित संख्या ३ पुगेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।