२३ असार २०७७
चौंरीदेउराली । काभ्रेको चौंरीदेउराली गाउँपालिकाका किसानहरुलाई फलफूल तथा घाँको विरुवा वितरण गरेको छ । किसानहरु माग अनुसार विरुवा वितरण गरेको कृषि तथा पशुपंक्षि शाखाले जानकारी दिएको छ ।
लकडाउनका कारण गाउँका युवाहरु शहरबाट गाउँ फर्केपछि बाँझो बारीमा खेतीपाती गर्न थालेपछि फलफूल र घाँको विरुवाको माग बढेको शाखाले जनाएको छ । कृषि शाखा प्रमुख अञ्जना चौंलागाईंका अनुसार गाउँपालिकमा ७० प्रतिशत भन्दा बढी बाँझो जमिनमा खेतीपाती गर्न थालेका छन् । ‘शहरबाट गाउँ पसेका युवाहरु खेतीपातिमा आकार्षित भएका छन् । रोजगार गुमाउन बाध्य भएका युवाहरु सबैभन्दा बढी कृषिमा आकर्षण भएको देखिन्छ ।’ कृषि शाखा प्रमुख चौंलागाईंले भनिन्, ‘अहिले खुशीको कुरा के छ भने ७० प्रतिशत भन्दा बढी बाँझो जमिनमा खेतीपाती शुरु भइसकेको छ । बोटविरुवा, बीऊविजनको धेरै माग बढेको छ ।’
गत सालको तुलनामा पशुपालन पनि बढेको छ । पशुपालनसँगै विभिन्न जातको घाँसको विरुवाको समेत निक्कै माग आएको पशुपंक्षी शाखा प्रमुख टंकप्रसाद चौलागाईंले बताए ।
विशेष गरि बाख्रापालनमा युवाहरुको आकर्षण रहेको चौंलागाईंले बताए । ‘गाउँमा अहिले बाख्रापालनमा धेरै युवाहरु लागेका छन् । लकडाउनका कारण गाउँमा फर्केका युवाहरुले पशुपालनमा जोड दिइरहेका छन् ।’ चौंलागाईंले भने, ‘गाई भैंसी समेत पाल्न थालेका छन् । गतसालको भन्दा यो साल घाँसको विरुवाको माग बढेको छ ।’
किसानहरुको मागलाई सम्बोधन गर्न माग बमोजिम बोयर जातको बोका समेत वितरण गरिरहेको उनले बताए ।
एक वडा एक कृषि पकेट
गाउँपालिकाले ‘एक वडा एक कृषि पकेट क्षेत्र’ बनाउने योजना अनुसार हाल ७ वटा वडामा शुरु भइसकेको छ । कृषि शाखा प्रमुख अञ्जना चौंलागाईंका अनुसार हरेक वडामा भिन्ना भिन्ना चीजको पकेट क्षेत्र बनाएको छ । ‘१ नम्बर वडामा चिया, २ नं. वडामा अलैची, ३ नं. वडामा कफि, ४, ५, ६ नं. वडामा तरकारी र ९ नं. वडामा चियाको पकेट क्षेत्र बनाउन शुरु भइसकेको छ ।’ चौंलागाईंले भने, ‘अरु २ वटा वडामा पनि हामीले काम थाल्ने छौं ।’
१० हजार भन्दा बढी विरुवा वितरण
चौंरीदेउराली गाउँपालिकाले १० हजार भन्दा बढी फलफूल तथा अन्य बोटविरुवाहरु किसानलाई बाँडेको छ ।
युवाहरु कृषिमा आकर्षित भएपछि पालिकाले धान्न सक्ने भन्दा ५० प्रतिशतले बीउ, बोटविरुवाको माग आएको चौंलागार्इंले बताईन् ।
‘हामीले एक महिना अघि नै किसानसँग माग संकलन गरेका थियौं । प्राविधिक परामर्श पनि दियौं ।’ कृषि शाखा प्रमुख चौंलागाईंले भनिन्, ‘लकडाउनका कारण घर फर्केका युवाहरु कृषिमा आकर्षण भएको छ । त्यसैले पालिकाले धान्न सक्ने भन्दा ५० प्रतिशत बढी माग आयो ।’
किसानहरुलाई ५० प्रतिशत अनुदानमा विरावा बाँडेको हो । किसानलाई बाँडेको १६ थरिको बोट बिरुवाहरुमा अलैंची १ हजार बोट, कागती १५ सय बोट, कफि ३ सय बोट, सुन्तला ७ सय बोट, एबोकार्डो १२ सय बोट, जुनार ५ सय बोट, अनार ५ सय बोट, लिची १ हजार बोट, आँप १ हजार बोट, अम्बा २ सय बोट, तेजपाता १ सय ५० बोट, मधेसी बदम १ सय बोट, रुख कटहर ३ सय बोट, मकाडेमिनट बदम ३ सय बोट रहेका छन् ।
१६ हजार घाँसको विरुवा वितरण
हालसम्ममा विभिन्न जातका गरि करिब १६ हजार विरुवा किसानलाई वितरण गरिसकेको पशुपंक्षी शाखा प्रमुख चौंलागाईंले जानकारी दिए । उनका अनुसार वितरण गरिएको घाँसको विरुवामा सुपरनेपियर ५ हजार, बोट, मुलाटो ३ हजार बोट, सुम्भसेटेरिया ३ हजार बोट, किम्बु १ हजार ५ सय बोट, इपिल इपिल १५ सय बोट, बदमे १५ सय बोट रहेको छ ।
पूण अनुदानमा बाँडेको चौंलागाईंले बताए । उनका अनुसार पशुपालन व्यवसायीक फर्महरुबाट घाँसको विरुवाको धेरै माग आएको छ ।
यस अघि हिउँदमा पनि जै को बीऊ एक हजार केजी बाँडेको उनले जानकारी दिए ।
घाँसमा आत्मनिर्भर बनाउन घाँसको विरुवा बाँडेको उनको दावी छ । ‘दाना र अन्नमा भन्दा घाँसमा आत्मनिर्भर बनाउने योजनाका साथ घाँस बाडेका हौं ।’ उनले भने, ‘दाना र अन्नमा धेरै खर्च हुन्छ । घाँसमै आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना हो । त्यति मात्र होइन घाँसमा १३ प्रतिशत प्रोटिन पनि पाइने भएकोले घाँसमा ध्यान दिएका छौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।