२३ असार २०७७
बनेपा । काभ्रे जिल्लाको बनेपा नगरपालिक वडा नं. २ घिमिरे गाउँमा संचालन भएको अवैध ग्रावेलखानीले ठुलो क्षती निम्त्याएको छ । वडा अध्यक्ष हरिशरण घिमिरेको नेतृत्वमा संचालित उक्त खानी माथिबाट ठुलो पहिरो झरेसँगै गाउँमा रुवावासी समेत सुरु भएको छ ।
काग्रेंसबाट निर्वाचित वडा अध्यक्ष घिमिरेको नेतृत्वमा काग्रेंस बडा नं. २ का सचिव बुद्धिकृष्ण घिमिरे र काग्रेंस कार्यकर्ता मातृकाप्रसाद घिमिरेको नेतृत्वमा स्थानीय कृष्णहरि घिमिरेको बारीबाट ग्रावेल निकालिएको थियो ।

ग्रावेल निकाल्दै जाँँदा माथिबाट पहिरो झर्न लागेको र बस्ती जोखिममा परेको सूचना पटक पटक दिंदा र यसो नगर्न भन्दा भन्दैपनि वडा अध्यक्षले गाउँका केटाहरु लगाई जग्गाधनीलाई ‘केही हुँदैन, परेको म व्यहोर्छु’ भन्दै ग्रावेल झिकिरहेका थिए ।
जग्गा धनीले समेत ‘मेरो जग्गाबाट ग्रावेल नझिक म समस्यामा पर्छु’ भन्दा गाउँको विकासमा विवाद नझिक्न र आफूहरुलाई काम गर्न देऊ भन्दै काग्रेंस सचिव बुद्धिकृष्णले दवाव दिइरहेका थिए । उनीहरुको टोलीले जग्गाधनीलाई प्रतिटिप ५ सय रुपैयाँमा ग्रावेलको रकम दिनेभन्दै काम गरेका थिए । ‘ग्रावेल झिकेर जमिन कोपोर्नु कोपरे अहिले गाउँनै सकिने गरी पहिरो झर्यो ।’ पीडितहरुले भने, ‘आफ्नो फाइदाको लागि ग्रावेल झिकेर हाम्रो घरबास उठाए ।’

ग्रावेल खन्न र बेच्नका लागि स्थानीय काँग्रेस कार्यकर्ता मातृकाले परेको आफू ब्यहोर्ने भन्दै आफ्नै मेसिन खानीमा लगेर दिनरात ग्रावेल झिकेको प्रत्यक्षदर्शीले बताए ।
ग्रावेल निकाल्दै गर्दा माथिबाट ठूलो पहिरो झरेसँगै स्थानीय भरत नेपाली लगायतको जग्गामा ठुलो पहिरो गएको छ भने उनको घरगोठ समेत बगाएको छ । ठुलै डाँडो धाजा फाटेर झर्न लागेसँगै गाउँमा पहिरो आतंक चलेको छ ।

पहिरोले कलमसी जाने सडक समेत पुर्ने ठुलो खतरा परिरहेको छ । पहिरो झरेसँगै यत्तिखेर वडा अध्यक्ष घिमिरे ग्रावेल निकालेको घटनामा आफूलाई नमुछ्न भन्दै जग्गाधनीहरुलाई धम्काउन थालेका छन् । बरु आफू भूक्षयबाट जाली मागिदिने भन्दै यस विषयलाई गुमाराहमा राख्न घिमिरे लागिपरेका स्थानियहरु बताउँछन् ।
पीडित परिवारलाई वडा अध्यक्ष सहितको टोलीले पटक पटक धम्काएर भूक्षय आफै भएको र आफूहरुले ग्रावेल निकालेर नभएको भन्न दवाव दिइरहेको छ ।
त्यसैगरी सडक विस्तारका नाउँमा उक्त वडामा यत्तिखेर ठूलो मात्रमा वन फडानी गरिएको समाचार छ । स्थानिय हिलेजलेजले उपभोक्ता समिति (क) को वनका हजारौं रुखहरु अवैधरुपमा फडानी गरिएको हो । वडा अध्यक्ष घिमिरेकै निर्देशनमा वन फडानी भइरहेको स्थानीहरुको आरोप छ ।

के भन्छन् वडा अध्यक्ष घिमिरे ?
त्यस ठाउँमा विगत ३ वर्षदेखि ग्रावेल झिक्दै आएको वडा अध्यक्ष घिमिरेले तेमाल अनलानलाई बताए । जोखिम बढेको देखेकोले ग्रावेल निकाल्न आफूले बन्द गरेको छ । ‘ग्रावेल झिकेको हो । विगत ३ वर्षदेखि निकालेर हालिरहेको हो ।’ घिमिरेले भने, ‘आज मैले फिल्डमा गएर हेरें । जोखिम देखेपछि बन्द गर भनेको छु ।’

माथिबाट रुख झर्न लागेकोमा काट्नको लागि सम्बन्धित निकायलाई भनिसकेको उनले बताए । साथै वडा अध्यक्ष घिमिरेले भूक्षय रोक्नका लागि वडावासीको तर्फबाट नगरपालिकामा बजेट माग गर्ने र आफूले सिफसिर दिन लागेको जानकारी दिए । आफूले उक्त स्थानमा ग्रावेलको लागि खन्न दिएको नभई जग्गा धनीको सहमतिमा खनेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















