१ साउन २०७७ धुलिखेल । इन्द्रावती नदीमा सशस्त्र प्रहरीको उद्धार टोली दुर्घटनामा परेको छ । उद्धारको लागि गएको सशस्त्र प्रहरीको टोली सवारी र्याफ्टीङ बोट आज विहान इन्द्रावती नदीमा दुर्घटनामा परेको हो ।
मेलम्ची खानेपानी आयोजनामा बेपत्ता भएकाको खोजीका लागि पुगेको तालिम प्राप्त उद्धार टोलीलाई इन्द्रावती नदीले बगाएको बताइएको छ । उनीहरुको उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरीलाई खबर गरिसकेको मेलम्ची नगरपालिकाका इन्जिनियर जित बहादुर कार्कीले जानकारी दिए ।
बोटमा ७ जना सवार रहेको बताइएको छ । त्यसमध्ये ३ जनाको फेला परेका छन् । बाँकी ४ जनाको खोजी भइरहेको बताइएको छ । नगरपालिकाको वडा नम्बर ११ मेचम्ची पुलबाट र्याफ्टिङ बोट बगाएको हो । बाहुनेपाटीमा बोट फेला परेको स्थानीयले बताएका छन् ।
इन्द्रावती नदीमा पानीको बहाव निकै बढेको छ । मेलम्ची खानेपानीको सुरूङमा समस्या आएपछि हेर्न गएको इन्जिनियर रहेको टोलीलाई बगाएको थियो । उनीहरुकै खोजीका लागि गएको सशस्त्र प्रहरीको टोली दुर्घटनामा परेको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















