२ श्रावण २०७७
काभ्रे । जिल्लाको चौंरीदेउराली गाउँपालिकाले घरेलु रक्सी पूर्णरुपमा प्रतिबन्ध गरेको छ । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले एक सूचना जारी गर्दै पूर्ण रुपमा प्रतिबन्ध गरेको हो ।
गाउँपालिकाको आ.व. २०७७।०७८ को नीति तथा कार्यक्रम र छैठौं गाउँसभाले मिति २०७७ श्रावण १ गतेदेखि लागु हुनेगरी घरेलु रक्सी उत्पादन, ओसार पसार तथा खरिद विक्रिमा पूर्णरुपले प्रतिबन्ध एवं निषेध गरिएको सूचनामा जनाएको छ ।
सूचनाको बर्खिलाप हुनेगरी कुनै क्रियाकलाप गरिएको पाइएमा कानून अनुसार कडा कारवाही हुने गाउँपालिकाले जनाइएको छ ।
सूचनामा भनिएको छः ‘यस गाउँपालिकाको आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रम र छैठौं गाउँसभाले यस चौरीदेउराली गाउँपालिका भित्र मिति २०७७ श्रावण १ गतेदेखि लागु हुनेगरी घरेलु उत्पादित रक्सी तथा आयतित सबै खाले मादक पदार्थको व्यवसायिक उत्पादन, ओसारपसार तथा खरिद विक्रिमा पूर्णरुपले प्रतिबन्ध एवं निषेध गरिएकोले सम्बन्धित सम्पूर्ण पसल व्यवसायी, ढुवानी व्यवसायी तथा जनसमुदायमा जानकारीको लागि सूचना गरिएको छ । यो सूचनाको बर्खिलाप हुनेगरी कुनै क्रियाकलाप गरिएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’
स्टक क्लियर गर्न १५ दिने अल्टिमेटम
गाउँपालिकाले स्टक क्लियर गर्न १५ दिनको समय दिएको छ । ‘सम्बन्धित पसल व्यवसायीहरुले उल्लेखित मादक पदार्थहरु स्टक भएमा २०७७ श्रावण १५ गतेभित्र नष्ट वा फिर्ता गरी स्टक क्लियर गर्ने ।’ सूचनामा उल्लेख छ ।
यस्तो छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।