२ श्रावण २०७७
धुलिखेल । एम्बुलेन्समा यात्रु ओसार पसार गर्ने चालक काभ्रेमा पक्राउ भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी विक्रम कुमार थापाका अनुसार सामाजिक विकास तथा वातावरण संरक्षण संघ, बबरगञ्ज, सर्लाहीद्वारा सञ्चालित एम्बुलेन्समा यात्रु ओसार पसार गरेको पाइएपछि चालकलाई पक्राउ गरेको हो ।
विहिबार विहान १०ः४० वजेको समयमा बनेपा नगरपालिका वडा नं. १४ साँगामा बा.५.च. ८६३८ नम्बरको एम्बुलेन्स चेकजाँच गर्दा एम्बुलेन्समा कुनै पनि बिरामी नरहेको र चालक समेत ८ जना यात्रु रहेको डिएसपी थापाले जानकारी दिए ।
अनुसन्धानको क्रममा १४ हजार रुपैयाँ भाडा लिई गार्मेन्टमा काम गर्ने मजदुरहरु लिई आएको अवस्थामा फेला पारेको थापाले बताए । पक्राउ पर्नेमा सर्लाही जिल्ला चन्द्रनगर गा.पा. वडा नं. ३ बबरगंज बस्ने सिताराम महत्तोको छोरा वर्ष ३५ को जुगतलाल महत्तोलाई कानुन बमोजिम पक्राउ गरी मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसूर शिर्षकमा मुद्दा दर्ता भएको प्रहरीले जनाइएको छ ।
पक्राउपछि एम्बुलेन्स र सोमा सवार यात्रुहरुलाई आफ्नो गृह जिल्ला सर्लाही तर्फ नै एम्बुलेन्स सहित फर्काईएको जनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।