३ श्रावण २०७७
काठमाडौं । सुनसरी जिल्लामा शसस्त्र प्रहरी बल र तस्कर समूह बीच झडप भएको छ । तस्करी समूहले हतियार खोस्न खोजेपछि भएको हो । झडपमा सशस्त्र प्रहरीका जवानसहित दुईजना घाइते भएका छन् ।
सशस्त्र प्रहरीले चलाएको गोली लागेर साहजब जट घाइते भएका छन् भने तस्कर समूहको आक्रमणबाट जवान जीवराज विशंखे घाइते भएका छन् ।
गएराती हरिनगरा गाउँपालिका–७ जटबरा स्थित दशगजामा भारतबाट अवैध रुपमा सामान ल्याउँदै गरेको समूहलाई बिओपी घुस्कीबाट खटिएको सशस्त्रको टोलीले नियन्त्रणमा लिन खोजेको थियो ।
तस्कर समूहले बाँस र ढुंगा प्रहार गर्दै सशस्त्रको हतियार खोस्ने प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन एक राउण्ड गोली चलाइएको सशस्त्र प्रहरीले जनाएको छ । घाइते दुवैको धरानस्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।
यस अघि पनि सिमानामा तस्कर समूह र प्रहरीबीच झडप हुँदै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।