७ श्रावण २०७७ काठमाडौं । मास्क अनिवार्य छैन भन्दै विरोध गर्दै आएका अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मास्क लगाउन सर्वसाधारणलाई आह्वान गरेका छन् ।
अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने विज्ञहरूको चेतावनीलाई स्वीकार्दै ट्रम्पले सबैलाई मास्क प्रयोग गर्न आह्वान गरेका हुन् । ह्वाइट हाउसमा मंगलबार भएको कोरोनासम्बन्धी दैनिक पत्रकार सम्मेलनमा ट्रम्पले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने स्वीकार गरेका छन् ।
उनले सबै अमेरिकीलाई मास्क लगाउन वा रुमालले मुख छोप्न आग्रह गरेका छन् । मास्क वा रुमालले मुख छोप्दा कोरोना भाइरसको संक्रमणबाट जोगिने भन्दै उनले राष्ट्रप्रेम दर्शाउन पनि मास्क लगाउन अपिल गरेका हुन् ।
सर्वसाधारणलाई मास्क लगाउन अपिल गरेका ट्रम्प स्वयम भने उक्त पत्रकार सम्मेलनमा मास्कविना नै उपस्थित भएका थिए । उनले यसअघिसम्म लगातार मास्कको विपक्षमा बोल्दै आएका थिए । आफूले मास्क लगाउँदै नलगाउने र नागरिकलाई मास्क लागउनका लागि अपिल नगर्ने बताएका ट्रम्पले गएको हप्ता सार्वजनिक रुपमा मास्क लगाएको देखिएका थियो ।
अमेरिकामा कोरोनाको महामारी पुनः तीब्र गतिमा बढेपछि सल्लाहकारहरूले उनलाई नयाँ रणनीति उपनाउन सल्लाह दिएका हुन् ।