७ श्रावण २०७७
रोशी । काभ्रेको रोशी गाउँपालिकाले अब गाउँ प्रहरीको व्यवस्था गर्ने भएको छ । आज बसेको गाउँ कार्यपालिकाको ४७ औं बैठकले गाउँ प्रहरी गठन गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाका अध्यक्ष डीबी लामाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गाउँ प्रहरीका लागि तीन कर्मचारी परिचालन गर्ने जनाएको छ । त्यसको लागि गाउँ प्रहरीको व्यवस्थापन गर्न कार्यविधि तयार भएको बताइएको छ ।
त्यसैगरि कार्यपालिका बैठकले ढुंगा, गिट्टिको दर रेट स्वीकृत गर्दै ५ करोड १ लाख ८ हजार ५ सय १५ मा ठेक्का दिने निर्णय गरेको छ । त्यस्तै गाउँपालिका भित्र रहेका अस्थायी र करार पदमा रहेका कर्मचारीहरुलाई लोक सेवा आयोगबाट कर्मचारी स्वीकृत भई विस्थापित करारका कर्मचारीहरुलाई २०७६ को कार्यविधिले तोके बमोजिम सुविधा दिई बिदाई गर्ने, स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन, तथा व्यवस्थापन कार्यविधि २०७६ को बुँदा नं ७ र २ मा दिइएको निर्णय अनुसार संशोधन गर्ने, कटिङ फिलिङमा २० प्रतिशत र अन्यमा १० प्रतिशत उपभोक्ता समितिले व्यहोर्ने निर्णय गरिएको गाउँपालिका प्रवक्ता पदम लामाले जानकारी दिए ।
आर्थिक वर्ष २०७७÷७८ को योजना कार्यन्वयनको क्रममा स्थानीय उपभोक्त समिति गठन परिचालन, व्यवस्थापन कार्यविधि २०७६ को पूर्ण रुपमा पालना गर्ने निर्णय भएको छ ।
त्यस्तै आगामी आर्थिक वर्ष २०७७।७८ को योजना अनुगमनको लागि रोशी गाउँपालिकाको अनुगमन र मूल्यांकन कार्यविधि अनुसार उपाध्यक्ष एवम् संयोजक लक्ष्मी कुमारी वर्तौला, सदस्य मिकाशजित लामा र सदस्य मिलन लामा सहितको अनुगमन समिति गठन गरेको छ ।
बैठकले आगामी आर्थिक वर्ष २०७७।७८ को लागि जिल्लाको दररेट कायम गर्ने र अन्य हकमा जिल्ला दररेटलाई आधार मानी माटो फाल्न १ घनमिटर बराबर रु ५०, माटो ढुंगा मिसाइ्एको रु १००, ढुंगा मात्र रु ३०० ब्रेकर लगाउन रु ५०० दररेट कायम गर्ने निर्णय गरेको छ । त्यसैगरी कानुनी सहजकर्ता डेजी गुप्तालाई प्रदेश सरकारले दिएको सुविधा गाउँपालिकाले व्यवस्थापन गर्ने गरी ६ महिनाको लागि करार सुविधा प्रदान गर्ने निर्णय गाउँपालिकाले गरेको प्रवक्ता लामाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।