१० श्रावण २०७७ काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरघरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइदैछ ।

घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यो दिन नागपूजाका लागि प्रसिद्ध भएको बराहपुराणमा उल्लेख छ।

ज्योतिष तथा वास्तु शास्त्रअनुसार पानीको लागि उत्तम स्थान पूर्व उत्तरको भाग इशान दिशालाई महत्वपूर्ण मानिन्छ । यसैले काठमाण्डौको पशुपतिनाथ मन्दिरको पूर्वउत्तरको दिशामा वासुकी नागको मन्दिर छ । त्यहाँ पनि नागपञ्चमीको दिन विशेष पूजा गरिन्छ ।

आजको दिन देशभरका नागपोखरी र नागमन्दिरहरुमा श्रद्धालुहरुको घुइँचो हुन्छ । नागको मन्दिर भएको ठाउँमा मन्दिरमा नै गएर नागको पूजा गरिन्छ भने नभएको ठाउँमा पनि गोबरको नाग बनाएर पूजा गरिन्छ । यसरी बनाएको नागको पूजा गर्दा दियो, कलश, गणेशको पूजा गरिन्छ र बनाइएको नागलाई दूधले नुहाइ लावा, कपास, दुबोलगायतले पूजा गरिन्छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।