१० श्रावण २०७७
बनेपा । नेकपा स्थायी कमिटी सदस्य तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले सरकारलाई आफ्नै पार्टीबाट सहयोग नपाएको बताएका छन् । आज मदन भण्डारी फाउन्डेशन, काभ्रेको भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले पार्टीबाट मात्र हाइन कर्मचारीबाट पनि सहयोग नभएको खुलासा गरे । ‘सरकारलाई पार्टीको सहयोग भएन । प्रतिपक्ष भन्दा चर्को विरोध संसदमा कसले गर्छ देख्नुभएकै छ ।’ उनले भने, ‘सबैको साथ हुने बेला ५ नम्बर गियरमा सरकार चल्यो, सहयोग नहुँदा अहिले ३ नम्बर गियरमा चलेको छ ।’
ओलीको अपराध के ?
मन्त्री ज्ञवालीले सरकारको नेतृत्व छाड्नु पर्ने गरी केपी ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेकाले मुलुकलाई अस्थिरता तर्फ नलैजान पार्टीका नेताहरुलाई अनुरोध गरे ।
‘नेपालको नक्सा जारी गरेकै आधारमा राजिनामा दिनु पर्ने हो कि ? अरु कुनै अपराध ग¥यो ?’ मन्त्री ज्ञवालीले भने, ‘नक्सा जारी गर्न रहर भएकाहरुले यस अघि नेतृत्वमा हुँदा किन नगरेको ? छापाखाना हुँदैमा जारी हुने हो नक्सा ? यसका लागि मुटु भएको नायक चाहियो ।’
बहुमतबाट हटाए एकता रहँदैन
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले बहुमतबाट ओलीलाई हटाउन खोजे पार्टी एकता नै नहने चेतावनी दिए । ओलीलाई हटाउन महाधिवेशन र अर्को निर्वाचन कुर्न नेताहरुलाई अनुरोध गरे ।
‘केपी ओलीलाई हटाउने भनेको महाधिबेशन र अर्को निर्वाचन मात्रै हो ।’ ज्ञवालीले भने, ‘बहुमतबाट हटाउने सपना नदेख्नुस त्यस्तो हुँदा एकता रहँदैन ।’
कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, नेकपा नेता एवं नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, प्रदेश सांसदहरु गोमा भुर्तेल, चन्द्र लामा, बसुन्धरा हुमागाईं, नेकपा काभ्रेका नेता इन्द्र तामाङ लगायतको सहभागीता रहेका थिए ।
कार्यक्रममा सयौं कार्यकर्ताहरुको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















