१० श्रावण २०७७
बनेपा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले नेकपाको चालक दलको सिट नफेरिने दावी गरेका छन् । मदन भण्डारी फाउन्डेशन, काभ्रेको भेलालाई आज सम्बोधन गर्दै बाँस्कोटाले उक्त दावी गरेका हुन् ।
कार्यक्रममा बाँस्कोटाले पार्टी अध्यक्ष प्रचण्डलाई क्रमभंगताका नाममा पार्टीलाई दुर्घटनामा नलैजान समेत अनुरोध गरे । ‘२६ महिनामा ६ पटक राजिनामा माग्ने ? कार्यकर्ताहरुलाई राजनीतिक बन्दी बनाएर आफु पदका लागि लड्ने ?’ उनले भने, ‘नेकपाको चालक दलको सिट फेरिदैन, चालक बदल्ने रहर हुनेहरुले महाधिबेशन सम्म कुर्ने हिम्मत गर्नु पर्छ ।’
बास्कोटाले सहमति, सहकार्य, सह अस्तित्व, सुदृढ एकता, सुस्पष्ट एकता र हार्दिकता सहितको एकता नभए सँगै जान नसकिने समेत स्पष्ट पारे । ‘पार्टी नेतृत्व कमन्डलु बोक्ने कि ? कमान्डर बन्ने ?’ बाँस्कोटाले भने, ‘पार्टी सिध्याएर कमण्डलु बोक्ने वा पार्टी बलियो बनाएर कमान्डर बन्ने ? म चेतावनी दिन चाहन्छु पार्टी भत्काउने भए किन बनाएको ?’
कार्यक्रममा बाँस्कोटाले आजको अवस्थामा माओवादको कुनै औचित्य नभएको समेत प्रष्ट पारे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















