१२ श्रावण २०७७
काभ्रे । वागमती प्रदेश प्रहरी कार्यालयले डियुटीमा बसेका प्रहरी कर्मचारीलाई बिभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकम सहित पक्राउ गरेको छ । वागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीका अनुसार प्रदेशको विभिन्न जिल्लाहरुमा पक्राउ गरी कार्वाही गरेको हो ।
आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरीएको प्रवक्ता गिरीले जानकारी दिएको छ ।
संक्रमणको जोखिमलाई मध्येनजर गरी नेपाल सरकारबाट भएका विभिन्न निर्णयहरु कार्यान्वयनको लागि नियमित डियुटीमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभन देखाई सरकारको निर्देशन उलंघन गर्न खोज्नेहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुनि कार्वाहीको दायरामा ल्याईएको गिरीले बताए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ९ जना र जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ जना गरी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १० जनालाई नियन्त्रणमा लिई कारवाही गरीएको छ ।
‘बिशेष गरी सवारी चालकहरुले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने, सवारी दुर्घटना गराई कानुनी कार्वाहीबाट उम्कने र नदिजन्य सामाग्री अबैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि डिउटीमा रहेका प्रहरी कर्मचारीहरुलाई ५ सय रुपैमयाँ देखी ५ हजार रुपैंयाँसम्म रकम दिएर प्रलोभनमा पार्न खोजिए पछि उनीहरुलाई रकम सहित पक्राउ गरीएको हो ।’ प्रवक्ता गिरी भने, ‘बिभिन्न मिती र समयमा पक्राउ परेका व्यक्तिहरुलाई कसुर अनुसार सावर्जनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाईएको,संक्रमण रोग ऐन २०२० अनुसार आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र कतिपयलाई ट्राफिक नियम उंल्लंघन गरेको कसुरमा जरिवाना गराईएको छ । आर्थिक प्रलोभनको लागि प्रहरीलाई दिईएको रकम भने अब आईन्दा यस्तो कार्यमा संलग्न नहुने सर्तमा काजग गराई सम्बन्धीत व्यक्तिलाई भरपाई गराई बुझाइएको छ ।’
इमान्दार प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान
आर्थिक प्रलोभनमा नपरी आफुलाई दिईएको जिम्मेवारि इमान्दारीताका साथ निर्वाह गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोहोत्सान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालयका साथै सम्बन्धीत जिल्ला प्रहरी कार्यालयले नगद पुरस्कार प्रदान गरेको प्रवक्ता गिरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यस अगाडीनै एक जना प्रनानि दर्जाको प्रहरी कर्मचारी सहित ४ जनालाई पुरस्कार प्रदान गरीसकेको छ भने आज बागमती प्रदेश प्रहरी कार्यालयले थप ३ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार (नियमानुसार पाउने) प्रदान गरेको छ ।
आज पुरस्कार पाउनेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी जवान दुईजना र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत १ जना प्रहरी जवान रहेका छन ।
इमान्दारीतापूर्वक कार्यसम्पादन गर्न प्रतिस्पर्धा
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत कार्यालयहरुलाई सोही अनुरुपको कार्य सम्पादन गर्न निर्देशन भएसंगै प्रहरी कर्मचारीहरुबाट सम्पादन हुने कार्यमा पार्दशीता र इमान्दारीता देखिन थालेको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लामाले कार्यभार सम्हाले पछि उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई तत्कालै अभिलेखमा जनिने गरी पुरस्कार प्रदान गर्न शुरुवात गरीएकाले त्यसको सकारात्मक प्रभावका कारण मातहत प्रहरी कर्मचारीहरु वीच इमान्दारीता पुर्वक कार्य सम्पादन गर्न प्रतिस्पर्धाको वातावरण सृजना भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















