१६ श्रावण २०७७
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले जिल्ला भन्दा टाढा रहेका सबै शिक्षकहरुलाई आगामी श्रावण २० गतेभित्र आ–आफ्नो वासस्थानमा आईपुग्न निर्देशन जारी गरेको छ । प्रधानाध्यापकहरुलाई एक पत्र लेखि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले उक्त निर्देशन जारी गरेका हुन् ।
तेमाल गाउँपािलका अन्तर्गत कोभिड–१९ (कोरोना भाइरस) का कारण अवरुद्ध भएको विद्यालयका पठन–पाठन सम्बन्धमा आगामी दिनमा क्रमशः कसरी सहजीकरण गर्दै अघि बढ्नका लागि यस्तो निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत कुईंकेलले जानकारी दिए ।
२० गते भित्र वासस्थानमा आईपुग्ने
गाउँपालिकाबाट अन्य जिल्ला तथा टाढा रहेका शिक्षकहरुलाई श्रावण २० गतेभित्र आफ्नो वासस्थानमा आईपुग्न निर्देशन दिएको कुईंकेलले जानकारी दिए ।
‘तेमाल गाउँपालिकाबाट अन्य जिल्ला तथा टाढा रहनु भएका प्र.अ. तथा शिक्षकहरु यही मिति २०७७ श्रावण २० गते भित्र आ–आफ्नो विद्यालयको आफ्नो बासस्थानमा आइपुग्न गाउँपालिकाले निर्देशन जारी गरेको छ ।’ उनले भने ।
१४ दिने क्वारेन्टाइनमा बस्नुपर्ने
गाउँपालिकाबाट अन्य जिल्ला तथा टाढा रहेका शिक्षकहरुलाई श्रावण २० गतेभित्र आफ्नो वासस्थानमा आईपुगेका शिक्षकहरु अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्देशन जारी भएको छ । क्वारेन्टाइन भने आफ्नै वासस्थानलाई बनाउनुपर्ने प्रमुख प्रशासकिय अधिकृत कुईंकेलले जानकारी दिए ।
‘गाउँपालिकाबाट अन्य जिल्ला तथा टाढा रहेका शिक्षकहरुलाई श्रावण २० गतेभित्र आफ्नो वासस्थानमा आइपुगेका शिक्षकहरु श्रावण ३२ गतेसम्म आफ्नो बासस्थानलाई क्वारेन्टाइनको रुपमा कोभिड–१९ सम्बन्धी स्वास्थ्य सतर्कता अपनाई १४ दिनसम्म बस्नुपर्ने छ ।’ कुईकेलले भने, ‘सो पश्चात स्वास्थ्य परिक्षण गर्ने र संक्रमण नदेखिएमा भदौ १ गते देखि विद्यालयमा उपस्थित हुन हामीले निर्देशन जारी गरेका छौं ।’
केन्द्रीय निकायबाट नियमित विद्यार्थीको पठन पाठन सुचारु गर्ने सम्बन्धी सूचना नआइन्जेल समाजिक दुरी कायम गरि भदौं १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक योजना निर्माण, विद्यार्थी सम्पर्क, शिक्षण सिकाई सहजीकरण र विद्यालयका अन्य कार्य सूचारु गर्न सबै विद्यालयलाई निर्देशन जारी गरेको छ ।
साथै विद्यालयमा रहेको क्वारेन्टाइनहरु वडा कार्यालयको समन्वयमा अन्यत्र व्यवस्थापन गर्न पनि गाउँपालिकाले निर्देशन जारी गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















