डिलबहादुर थोकर, १६ श्रावण २०७७
बनेपा । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सहकारी र समाजवाद सँगसँगै अगाडि बढ्ने बताएका छन् । आज बनेपामा सहकारी बजार विकास कार्यक्रमको सहयोगमा सहकारीहरुका लागि ढुवानी साधन हस्तान्तरण तथा सहकारी तथ्यांकीय विवरण पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वबाँस्कोटाले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाँस्कोटाले समाज विकासको मूल आधार सहकारी या आर्थिक गतिविधि रहेको बताए । ‘हामी कहिलेकही के ठान्छौं भने समाजको विकासको मूल आधार भनेको राजनीति मात्र हो । जो राजनीतिमा छन् ।’ उनले भने, ‘समाज परिवर्तनको पहिलो आधार भनेको आर्थिक गतिविधि नै हो । अर्थतन्त्रमा कस्को पहुँच हुने भन्ने कुरा चाहिं राजनीतिले निर्धारण गर्दछ ।’
मुलुकमा गरिबी भएकोले एकैचोटी समाजवाद स्थापना गर्न नसकेको बताउँदै उलने गरिबी विरुद्ध लड्न सहकारी सबैभन्दा बलियो आधार सहकारी भएको दावी गरे । ‘देशले तीन खम्बे अर्थतन्त्र अबलम्बन गरेको छ । त्यस मध्यमा सहकारी पनि हो ।’ उनले भने, ‘एकै चोटी समाजवादमा स्थापना गर्न सक्दैनौं । मुलुकमा गरिबी छ । गरिबी विरुद्ध लड्न सहकारी सबैभन्दा पहिलो र बलियो आधार स्तम्भ हो ।’
उनले आफू वेइमान गर्न राजनीतिमा नलागेको स्पष्ट पारेका छन् । ७० करोड भ्रष्टाचारको आरोप लागेकोले आफू सामाजिक परिक्षणमा रहेको बताए । ‘यो ७० करोडेलाई किन प्रमुख अतिथि बनाएको ? भन्लान स्पष्टीकरण त दिनुपर्‍यो ।’ उनले भने ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।