१६ श्रावण २०७७
काठमाडौं । पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र बढ्न थालेपछि सरकारले देशभर सभा सम्मेलन नगर्न आह्वान गरेको छ ।
बिहीबार सिरहामा जनता समाजवादी पार्टी प्रवेश कार्यक्रममा ३ सयभन्दा बढी मानिस सामाजिक दूरी कायम नगरी उक्त कार्यक्रम गरिएको थियो । उक्त घटनाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक जागेश्वर गौतमले दुःख व्यक्त गरेका थिए ।
जसपाका अध्यक्ष उपेन्द्रद्र यादव तथा वरिष्ठ नेता बाबुराम भट्टराईले उक्त कार्यक्रममा पार्टी प्रवेशका नाममा मानिसहरुको भीड बढाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । त्यस्तै काठमाडौंमा ’इनफ इज इनफ’ ले गरेको सरकारविरोधी आन्दोलनमा सयौं मानिस सहभागी हुने गरेका छन् ।
काठमाडौं उपत्यका र बाहिरका जिल्लामा विभिन्न राजनीतिक दल र संघ संस्थाले सभा गरेको प्रति स्वास्थ्य मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ । सामाजिक दूरी कायम गर्नुपर्ने र मास्कको अनिवार्य प्रयोगमा ल्याउन स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रा. डा. गौतमले बताए ।
उनले भने, ’कुनै पनि राजनीतिक दल वा संघ संस्थालाई सभा सम्मेलन नगर्न अनुरोध छ । उपत्यकामा संक्रमण संख्या बढिरहेको छ।’ सबैले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुपर्ने गौतमले बताए । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन भने पनि कसैले पालना नगरेको भन्दै उनले गुनासोसमेत गरेका थिए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदा मुलुकभर जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउने उनले चेतावनी दिएका थिए ।
नेपालको सीमाबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएको उल्लेख गर्दै उनले ओखलढुंगाका नागरिक भारतबाट गाडीमा आएका २१ जना मध्ये १८ जनामा कोरोना देखिएको जानकारी दिए । यस्ता घटनाले दुःखद् घटना निम्त्याउने भएकोले बेलैमा सजग रहनलाई उनले सुझाव दिए ।
समूहमा कोरोना पोजेटिभ देखिएको प्रति उनले चासो प्रकट गरे । स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना देखिनुले समूहमा कोरोना देखिएको गौतमले बताए । जनसम्पर्कमा रहने मानिसलाई बढी संक्रमण फैलिरहेको प्रति उनले चिन्तासमेत व्यक्त गरेका छन् ।
स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउँदा काठमाडौं र देशभरका बिरामीले अस्पतालमा उपचार गर्नलाई बेड नपाउने अवस्था आउनेप्रति उनले सचेत गराएका थिए । यस्ता कुराप्रति बेलैमा सजग रहन पनि उनले सुझाव दिए ।
गौतमले भने, ’मास्क प्रयोग नगर्ने २ लाख मानिसलाई कारबाही गरिएको छ। बाटोमा हिँड्ने मानिसलाई १६ हजार मास्क वितरण गरिएको छ। यो दुःखद् कुरा हो । सबैले मास्क लगाउनुपर्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















